काठमाण्डौं-स्विडेनले विश्वकप फुटबल छनोट प्लेअफको पहिलो लेगमा १–० को विजय हात पारेपछि इटाली संकटमा परेको छ । यसले चारपल्टको विजेता इटाली ६० वर्षमा यसपालि विश्वकप छनोट नहुने खतरामा पुगेको छ ।


ADVERTISEMENT


बैकल्पिक ज्याकोब जोहन्सनले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । सोमबार मिलानको सान सिरोमा हुने दोस्रो लेगमा जिएन पिइरो भेन्टुराको इटालीले विश्वकपमा पुग्न यस नतिजालाई उल्टाउनुपर्ने हुन्छ । इटाली पछिल्लोपल्ट सन् १९५८ मा स्विडेनमै भएको विश्वकपमा पुग्न असफल भएको थियो ।


ADVERTISEMENT

# # #


अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोटमा इटालीको यात्रा गतिलो हुन सकेको थिएन । समूह ‘जी’ मा स्पेनसँग ३–० ले पराजित इटाली घरेलु मैदानमा म्यासेडोनियासँग १–१ को बराबरीमा रोकिएको थियो ।

यता, अस्ट्रेलियाले होन्डुरसलाई गोलरहित बराबरीमा रोकेर विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ । एसिया–कन्काकाफ प्लेअफमा अस्ट्रेलियाका स्ट्राइकर टोमी जुरिकले दुवै हाफमा गोल गर्ने राम्रो अवसर गुमाए । दोस्रो लेग सिड्नीमा बुधबार हुनेछ ।
दक्षिण अमेरिका–ओसियाना क्षेत्रको प्लेअफमा पेरुले विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ । वेलिङटनमा शनिबारको प्लेअफ पहिलो लेगमा न्युजिल्यान्ड र पेरुबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।