नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ। केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो।


ADVERTISEMENT


भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डि वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ। ‘हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ’, सुझावमा उल्लेख गरिएको छ।


ADVERTISEMENT

# # #


मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधीशहरुले गरेका छन्। लकडाउनलाई अदालतले तात्कालिन उपायको रुपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपाय भने अरु नै अपनाउनुपर्ने उल्लेख गरेको छ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकालाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवतजावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ। चिकित्सकहरुले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

विज्ञ तथा सरोकारवालाहरुले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा। धिरेन गुप्ताको भनाइ छ।

‘बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दूरगामी समस्या हो’, उनले भने। बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ।

विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए। साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए।

नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रबारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ। पटाकाको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाइ छ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिँदै आएको छ। हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन्। दिल्लीमात्रै नभई भारतका अरु पनि धेरै सहरहरु अति प्रदूषित सहरमा पर्दछन्। संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन्। रासस