काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ‘क्लीन स्वीप’ गरेको छ । बिहीबार कतारको महिला टोलीलाई १०९ रनले पाखा लगाएसँगै नेपालले तीनवटै खेलमा जित हात पारेर आफ्नो पहिलो टी–२० सिरिज क्लीन सिरिज ‘क्लीन स्वीप’ गरेको हो ।


ADVERTISEMENT


कतारको दोहास्थित वेष्ट इन्ड पार्क स्टेडिययममा टस जितेर ब्याटिङ थालेको नेपालले सीता राना मगरको शानदार ब्याटिङको मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । १६५ रनको लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


कतारका लागि एलिना खानले ३३ बलमा ३ चौकासहित १९ रन र कप्तान आयशाले १४ बलमा १ चौका र १ छक्काको मदतमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहारो अंक छुन सकेनन् ।

नेपालका लागि सुबनम राई, सरस्वती कुमारी चौधरी र कप्तान रुबिना क्षेत्रीले १–१ विकेट लिए । कतारले ४ विकेट रनआउटमा गुमायो ।

यसअघि नेपालका लागि सीता राना मगरले शानदार ब्याटिङ गरिन् । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हानेकी उनले ७२ बलमा ७ चौकासहित ८२ रनको योगदान दिइन् । यस्तै ज्योती पाण्डेले २० बलमा १ चौकासहित २४ रन बनाइन् भने सरिता मगरले ११ बलमा १ चौकासहित १७ रन बनाएर नटआउट रहिन् । डली भट्ट ९ बलमा १२ रन बनाएर आउट भइन् ।

कतारका लागि एन्जेलिन मारे, साची धडवाल र कप्तान आयशाले समान १–१ विकेट लिए ।

महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि टी–२० सिरिज खेल्न कतार पुगेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा कतारलाई ११९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।

कतार सिरिजपछि नेपाली टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि मङ्सिर ३ गते (भोलि) युएई प्रस्थान गर्नेछ। छनोट खेल भने आगामी मंसिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ ।

महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैँ भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।