काठमाण्डौं-निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणअन्तर्गत माटो सम्याउने काम सुरु भएको छ । राष्ट्रिय गौरवको यो विमानस्थलको चिनियाँ निर्माण कम्पनी सीएएमसीले गत साउन १८ देखि निर्माणको काम थालेको हो । निर्माण कम्पनीले विमानस्थल निर्माणपूर्वको आधारभूत माटोसम्बन्धी काम आइतबारदेखि सुरु गरेको हो । डिजाइन गाइडलाइनअनुसार विमानस्थलको रनवे, टयाक्सी वे, एप्रोन, टर्मिनल भवनलगायत अन्य संरचना बनाउनुअघि माटो काट्ने र सम्याउने पहिलो काम सुरु भएको आयोजना निर्देशक प्रदीप अधिकारीले बताए । ‘संरचना बनाउनुअघि माटोको काम महत्त्वपूर्ण हुने भएकाले सोहीअनुसार काम थालिएको हो,’ उनले भने, ‘यो आयोजनाको एउटा कम्पोनेन्ट हो ।’


ADVERTISEMENT


चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा विमानस्थल बन्दै छ । पूर्व प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो । शिलान्यास भएको साढे १६ महिनापछि गत साउन १८ मा निर्माणको काम सुरु भएको हो ।


ADVERTISEMENT

# # #


निर्माण कम्पनी सीएएमसीका प्रोजेक्ट म्यानेजर जेरी याङलेले आगामी मे महिनासम्ममा ८० प्रतिशत र त्यसपछिको एक वर्षमा माटोसम्बन्धी सबै काम सकिने बताए । उनका अनुसार हाल विमानस्थल क्षेत्रभित्रको माटो काट्ने, सम्याउने, पुर्नेलगायत काम जारी छ । ‘माटोको काम सकिएलगत्तै अन्य संरचना बनाउन थाल्नेछौं,’ उनले भने, ‘स्थानीय र नेपाल सरकारको सहयोग भएमा तोकिएकै समयमा विमानस्थल निर्माण हुनेछ ।’ हालसम्म कुनै प्रकारको अवरोध नभएकाले काम सहज रूपमा अघि बढ्ने बताए ।

विमानस्थल निर्माणका लागि ३० चिनियाँ प्राविधिकसहित १ सय २० कामदार खटिएका छन् । माटोको कामसँगै नाली बनाएर विमानस्थल क्षेत्रको पानीको निकाससमेत गरिनेछ । अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनसमेत अन्तिम चरणमा पुगेको छ । ५ महिनाभित्र सबै डिजाइनको काम पनि सकिएर निर्माण प्रक्रियामा जाने उनले बताए ।

१० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौताअनुसार विमानस्थलको काम अघि बढेको हो । गत ३१ मेमा ऋण प्रभावकारी (लोन इफेक्टिभ) भएपछि ४२ दिनभित्र निर्माण सुरु गर्नुपर्ने कार्यादेशअनुसार निर्माण कम्पनीले साउनदेखि काम थालेको हो । निर्माण चरणमा आउनुअघिका सबै प्रक्रिया पूरा भएकाले असार २७ बाट काम गर्न पत्राचार गरेअनुसार निर्माणको काम सुरु भएको थियो । आयोजनास्थलमा सीएएमसीईले कार्यालय, निवास, खानेपानीलगायतका पूर्वाधार बनाइसकेको छ । थप उपकरण ल्याएर निर्माणको कामलाई गति दिने याङले बताए ।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋण हो । ईपसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्ने क्षमता हुनेछ । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ बोर्डिङ कक्ष, टयाक्सी वेलगायत पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ । विमानस्थलका लागि सरकारले ०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिकरण गरेको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन् । – आजको कान्तिपुरबाट