काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताएका हुन् । उनले भने, ‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ ।’


ADVERTISEMENT


उनले संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्री शर्माले युवाहरुलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनले आग्रह गरे ।


ADVERTISEMENT

# # #


यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्याश गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नको लागि किसानहरुलाई उन्नत जातको दुधालु भैंसी र उन्नत जातको दुधालु गाइहरु लागत सहभागितामा वितरण गरिने जानकारी दिए । ‘यसबाट हरेक दिन किसानको घरमा पैंसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमा समेत किसानहरुको हिस्सा लाग्छ ।’

उनले भने ‘जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट शुरु हुनेछ ।’ आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।