चितवन – नेकपा (एमाले)को  चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन कसरी टुंगिएला भन्ने विभिन्न अडकलबाजी भइरहेको छ । सर्वसम्मतको कुरा धेरै सुनिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि दिन अघि नै तयार गरेको एक किसिमको नामावली पढेर सुनाउने र हलमा बसेका प्रतिनिधिले ताली पिटेर अनुमोदन गर्ने गरी समापन हुने आकलन धेरैले गरेका छन् ।


ADVERTISEMENT


एमालेले  आजै नेतृत्व चयनसमेत  गर्ने आकलन समेत गरिएको छ । सर्वसम्मतिबाट नेतृत्व चयन भनेको अगाडि नै अध्यक्ष ओलीले तयार गरेको विभिन्न व्यक्तिको पदीय दायित्वको सूची सार्वजनिक गर्नु जस्तै हुनेछ । जसमा मन परे पनि नपरे पनि ताली पिटेर घर फर्कनुको विकल्प हुने छैन ।


ADVERTISEMENT

# # #


१९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने सर्वाधिकार शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । जसको तयारी ओलीले यसअघि नै गरेका थिए ।  ओलीले पदीय भागबण्डा गरेको केन्द्रीय सदस्यहरूको तालिका दिउँसो १२ बजे बस्ने प्रतिनिधिसहितको बैठकमा सुनाएपछि हलले ताली बजाएर अनुमोदन गर्ने पक्कापक्की भएको एक नेताको दाबी  छ।

अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले उम्मेदवारी फिर्ता नलिए उनको उम्मेदवारी हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ  बताउँछन् । बाँकी आकांक्षीहरूले उम्मेदवारी दिने र चुनाव लड्ने घोषणा गरेका छैनन् ।

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी, सचिवमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, पद्‌मा अर्याल, विष्णु रिमाल, भानुभक्त ढकालमध्येबाट सहमति जुटाउने कोसिस गरेको बताइएको छ।

एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएपछि शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३०१ पुर्‍याउने निर्णय गरेको थियो। शुक्रबार सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न गर्ने तयारी छ।