काठमाडौँ – सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी–२० विश्वकप खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको सपना अधुरै रहेको छ ।


ADVERTISEMENT


विश्वकवको एशियाली क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा आइतबार आयोजक युएईसँग ४८ रनले पराजित भएसँगै नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।


ADVERTISEMENT

# # #


दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस जितेपछि पहिले ब्याटिङ गर्ने निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनायो । १२८ रनको रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमै समेटियो ।

नेपालका लागि इन्दु बर्माले २० बलमा १ चौकासहित सर्वाधिक १५ रन बनाइन् । यस्तै सीता रानामगरले ८ बलमा ३ चौकासहित १३ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा १४ वर्षीय समिरा धरणधर्काले घातक बलिङ गरिन् । उनले ४ खेलमा ५ रन मात्र खर्चिर ४ विकेट चट्काइन् । यस्तै खुसी शर्मा र चमानी सेनेभिरत्नले समान २–२ विकेट लिए भने चया मुघालका नाममा एक विकेट रह्यो ।

यसअघि श्रीलंकाको राष्ट्रिय टिमबाट खेलिसकेकी ४३ वर्षीय चामिनी रोशनी सेनेभिरत्नले शानदार ब्याटिङ गरेपछि युएईले नेपालका लागि चुनौतिपूर्ण योगफल तयार पार्यो । आक्रामक अर्धशतक बनाउने क्रममा चामिनीले ३६ बलमा ७ चौकासहित ५२ रन बनाइन् । यस्तै थीरथा सतिशले ४६ बलमा ३ चौकासहित ४७ र काभिसा इगोड्जेले २२ रनको योगदान दिइन् ।

नेपालका लागि कविता कुँवरले २ तथा सवनम राई, सीता रानामगर र संगीता राईले समान १–१ विकेट लिए ।

पहिलो खेलमा हङकङसँग ४ विकेटले हारेको नेपालले दोस्रो खेलमा भुटानलाई ८ र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तर, चौथो तथा अन्तिम खेलमा पराजय व्यहोरेपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

यता युएई चारवटै खेल जितेर ५ टोली सम्मिलित एशियाली क्षेत्र छनोटमा शीर्ष स्थानमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुगेको हो ।