काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता बद्रीप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनका लागि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले संस्थापनइतर पौडेल–कोइराला समूहबाट सहमहामन्त्रीमा लड्ने र संस्थापन इतरसँगै संस्थापन पक्षबाट समेत आफूलाई साथ रहने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेता पाण्डेले भने, ‘दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भइसकेको छु । त्यतिबेला अञ्चल छोडेर खुलामा आएँ र अहिले खुला छोडेर पदाधिकारीका लागि पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उठ्ने निर्णय गरेको छु ।’

आफू जिते पनि हारे पनि  १५ औँ महाधिवेशनमा फेरि सहमहामन्त्रीमा नउठ्ने र सम्भव भएसम्म महामन्त्री र उपसभापति लागि प्रयास गर्ने जनाए ।

लोकतन्त्रको सुदृढीकरणका लागि एक व्यक्ति, एक पद, एक कार्यलको पद्धति आवश्यक रहेको बताउँदै उनले भने, ‘अहिले राजनीति सबैले गर्ने र सँधैका लागि गर्ने परिपाटी बनेको छ । तर, लोकतन्त्रलाई स्वच्छ र सबल बनाउने हो भने केही समय गर्ने र केहीले मात्रै गर्ने बनाइनु पर्छ ।’

नेता पाण्डेले उम्मेदवारी घोषणासँगै आफूले ४ ‘व’ को सूत्र अघि सारेको जानकारी दिए । उनले भने, ‘संगठन सुदृढीकरणका ४ ‘व’ भनेर अघि सारेको छु । पहिलो ‘व’ भनेको विचार हो । कुनै पनि संगठन वैचारिक दृष्टिकोणले स्पष्ट हुनुपर्छ । दोस्रो ‘व’ भनेको विधान हो । विधानको अक्षरशः परिपालना गरिनु पर्छ । तेस्रो ‘व’ भनेको बैठक । अर्थात नियमित बैठक गर्ने भन्ने हो । चौथो ‘व’ भनेको व्यवस्थापन । यसमा कार्यकर्ताको व्यवस्थापन, कार्यालयको व्यवस्थापन र अर्थ व्यवस्थापन हो ।’

चारवटै ‘व’ मध्ये विधान महत्वपूर्ण रहेको र उनले विधानको पूर्णपरिवालना गर्ने हो भने विचारको स्पष्टतादेखि बैठक र व्यवस्थापन पनि समेटिने उनको भनाई छ ।

 विद्यार्थी राजनीतिबाटै नेपाली कांग्रेसको यात्रा सुरु गरेका पाण्डे दुई पटक केन्द्रीय सदस्य बनेका थिए । २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य र रुपान्तरित व्यवस्थापिकाका सांसद बनेका उनी २०७४ पछि २ वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए । अब पदाधिकारीमा गएर पार्टीको सांगठनिक र वैचारिक दृष्टिकोण विकासका लागि काम गर्नका लागि सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

पार्टीको १४औँ महाधिवेशन केन्द्रित हुनुपर्ने भएकाले सरकार सञ्चालनमा प्रभावकारी काम नदेखिए पनि महाधिवेशनपछि सत्ता र कांग्रेस ठीक दिशामा जाने नेता पाण्डेले दाबी गरे । आफूले पात्रप्रधान भन्दा पार्टीप्रधान विचारलाई जोड दिएको बताउँदै उनले महाधिवेशन पछि संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यलाई सशक्त ढंगले पुष्टी गर्न लाग्ने उल्लेख गरे ।

उनले देश विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेकाले पुराना पुस्ताको त्याग, समर्पण र बलिदानको सम्मान गर्दै नयाँ पुस्ताको उर्जा र दृष्टिकोणलाई पनि उचित संयोजन गरेर कांग्रेसलाई शक्तिशााली पार्टी बनाउनुपर्ने धारणा राखे ।