काठमाडौं – एमाले नेता शंकर पोखरेलले भोट नहाल्ने नामावली महाधिवेशन प्रतिनिधिलाई वितरण गरिनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले बन्दसत्रले पारित गरेको नयाँ नेतृत्वको सूचीभन्दा बाहिर गएर उम्मेदवार बनेकाहरूविरुद्ध कार्यकर्ताले प्रचार गर्नुलाई अन्यथा लिन नहुने पनि बताए ।


ADVERTISEMENT


आज बिहान ४ बजेपछि एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । मतदानका लागि लाइनमा बसेका प्रतिनिधिलाई अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीका कार्यकर्ताले भीम रावललगायतका नेताहरूको नाम लेखेर भोट नहाल्ने नामावली भन्दै छापिएको लिष्ट वितरण गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसप्रति सञ्चारकर्मीले राखेको जिज्ञासामा शंकरले भने, ‘बन्दसत्रमा हलले पारित गरेको सूचीका विषयमा प्रचार प्रसार हुनु स्वभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।’ अध्यक्षका उम्मेदवार भीम रावलसहित उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीम आचार्यलगायतलाई भोट नहाल्न भन्दै ओलीका कार्यकर्ताले पर्चा बाँडिरहेका हुन् ।

यसैबीच चितवनमा एमालेको मतदान सुरु भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै अध्यक्षका प्रत्यासी भीम रावलले निन्दा गरेका छन् । यस्तो कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए । उनले यस्तो गतिविधि रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।