काठमाडौं – नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले काँग्रेसको १४ औँ महाधिवेशनका लागि बाग्मती प्रदेश सभापतिमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । उनको उम्मेद्धवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् ।


ADVERTISEMENT

# # #


बानियाँले बाग्मती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मुल्य र मान्यतामा देशलाई डोर्याएको छ ।’ १६ गतेदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदैछ ।

उनले कांग्रेसले लिएको विचार र नीतिका कारण आज पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने हाम्रो उद्देश्य छ । अब कांग्रेसले आन्दोलन र क्रान्तिलाई विश्राम गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्नुपर्छ ।’

बानियाँले बाग्मती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए । उनले बाग्मती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए ।

उनले आफ्नो उम्मेद्धवारी घोषणासभामा उपस्थित् सबै नेता तथा कार्यकर्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । बानियाँका समर्थक काभ्रेका सभापति तीर्थ लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताए । उनले बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गरे ।

त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले भने,‘आज हामी ऐतिहासिक क्षणमा छौं । कांग्रेसले पहिलोपटक ईतिहासमै संघीय संरचनाअनुसार प्रदेश अधिवेशन सम्पन्न गर्दैछ, भोलि ७ वटै प्रदेशको अधिवेशन सुरु हुँदैछ। बाग्मती प्रदेशको अधिवेशन सुरु हुनुअघि बाग्मती प्रदेशको हाम्रो टिमबाट सभापतिमा बानियाँलाई अघि बढाएका छौं ।’

उनले आफूहरुले धेरै लामो छलफपछि आफूहरुको समूहबाट उक्त प्रदेशका पार्टीको तर्फबाट पनि प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेद्धवारको रुपमा अघि बढाएको सुनाए ।

उक्त घोषणा कार्यक्रममा नेताहरु बहादुरसिंह लामा, अर्थराज्यमन्त्री उदयशमशेर राणा , बाग्मती प्रदेशका सांसद कल्पना नेपाली, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङलगायतका नेताहरुको बाक्लो उपस्थिति थियो ।