• नेपाली कांग्रेसका युवा नेता गणेश बहादुर बिष्ट :

निर्वाचन संघारमा छ । यो बीचमा नेपाली कांग्रेसको चुनावी तयारी कस्तो छ ?


ADVERTISEMENT


नेपाली कांग्रेसले अहिले पार्टीको सम्पूर्ण भातृसंस्थाहरुलाई परिचालन गरेर तथा पार्टीका विभिन्न तह र तप्काका व्यक्तिलाई परिचालन गरेर युद्ध मैदानमा उत्रिएको छ । संविधानको रक्षाका लागि, जनताको सुख शान्ति र समृद्धिका लागि नेपाली कांग्रेसको बहुमत आउनुपर्छ ।


ADVERTISEMENT

# # #


तपाईले नेपाली कांग्रेसको जितको आँकलन कुन रुपमा गर्नु भएको छ ? प्रक्षेपण कस्तो छ ?

वामगठबन्धनले गर्दा नेपाली कांग्रेसको बहुमत आउँदैन भन्ने खालको समाजमा एउटा भ्रम छ । तर यो गलत हो । नेपाली जनताहरु अत्यन्तै शिक्षित भइसकेका छन् । प्रजातान्त्र भएमा मात्रै जनताको जिउधनको रक्षा हुन्छ र समृद्धि कायम हन्छ भन्ने बुझेका छन् । यस कारण नेपाली कांग्रेसका बहुमत आउँछ भन्ने मलाई विश्वास छ ।

यो जुन वाम गठबन्धन छ नि । त्यसमाथि तपाईको बुझाई कस्तो छ ? वाम गठबन्धनको एकता तपाईहरुको लागि कत्तिको चुनौतिपूर्ण छ ?

जनताको विकास र समृद्धिका लागि, संविधान कार्यान्वयनका लागि यो गठबन्धन भएको होइन । यो त उहाँहरुको निहीत स्वार्थका लागि हो । जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने नियत र साम्यवादी शासन लागू गर्ने नियत हो जस्तो लाग्छ ।

नेपालमा कम्युनिस्ट शासन स्थापना गर्ने उनीहरुको योजना हो । त्यो कदापी सम्भव हुँदैन । जनताको पक्षमा बोल्ने पार्टी, लोकतन्त्रको पक्षमा बोल्ने पार्टी, अन्तराष्ट्रिय मुल्य र मान्यतामा अगाडी बढ्ने पार्टी भनेकै नेपाली कांग्रेस हो । त्यस कारण नेपाली जनताले कांग्रेसलाई भोट दिनुपर्छ ।

संविधान कार्यान्वयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन पश्चात स्थायित्वका लागि मुलूक अगाडी बढिराखेको छ । विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले कसरी गर्छ ?

नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ल्याएको छ । नेपाली कांग्रेसले मुलतः तीन चारवटा योजना राखेको छ । कृर्षिको विकास, पर्यटनको विकास र उर्जाको विकास । यो मुलूकमा कृर्षि, पर्यटन र जलस्रोतको विकास गर्न सकिएन भने नेपालको विकास कहिल्यै हुँदैन । यी कुराहरु गर्न सकियो भनेमात्रै नेपालको विकास हुन्छ । नेपालमा मेडिकल क्षेत्रको विकास, पूर्वपश्चिम राजमार्गको अवधारणा, मध्यपहाडी लोकमार्गको अवधारणा, रेल वे को अवधारणा सबै नेपाली कांग्रेसले ल्याएको हो ।

नेपालमा जे जति विकास भएको छ, त्यो सबै कांग्रेसकै पालामा भएको हो । माओवादीले हामीले गरेका विकास पनि उसले १० वर्षमा नष्ट गर्यो । फरि यिनीहरुको शासन आयो भने कर्मचारी देखि लिएर क्याम्पसमा समेत राजनीतिक अखडा बनाउने, क्याम्पसमा पठपाठन हुन नदिने, प्राप्त उपलब्धीलाई पनि समाप्त गर्ने नियत उस्तै हुन्छ । बामपन्थीको बहुमत आएको हो नि । प्रचण्ड, बाबुराम, झलनाथ, माधव प्रधानमन्त्री भए । तर, संविधान त बन्न सकेन नि !

नेपाली कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान निर्माण भयो । यसको कार्यान्वयन पनि हामीले नै गर्दैछौँ । अब केही समयपछि तीनवटै तहका निर्वाचन सम्पन्न हुँदैछन् ।  देशको विकास र समृद्धिको नेतृत्व गर्नका लागि पनि नेपाली कांग्रेस नै आवश्यक छ ।

अन्त्यमा, आम मतदाताहरुलाई के भन्नुहुन्छ ?

यो निर्वाचन भनेको प्रजातन्त्रवादीे र साम्यवादी बीचको चुनाव हो । यदि जनताको अधिकारलाई रक्षा गर्ने हो भने, यदि यो मुलूकमा शान्ति र समृद्धि स्थापना गर्ने हो भने, अहिलेको संविधानलाई कार्यान्वयन गर्ने हो भने आम मतदाताहरुले नेपाली कांग्रेसले भोट दिनुपर्छ । नेपाली कांग्रेसलाई बहुमतको सरकार बनाउनका लागि यहाँहरुले भोट दिनका लागि म अनुरोध गर्न चाहन्छु ।