काठमाडौं – पूर्वराजदूत सुरेशराज चालिसेले नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा उम्मेदवारी दिने भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित चालिसेले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । चालिसे अमेरिकाका लागि नेपालका पूर्वराजदूत हुन् ।


ADVERTISEMENT


उनले केन्द्रमा मधेशी र प्रदेशमा पहाडी समूदायको नेतृत्व हुनुपर्ने धारणाका साथ प्रदेश २ सभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । ‘मुलुक संघीयतामा गइसकेको छ। केन्द्रमा तथाकथित मधेशी र प्रदेशमा तथाकथित पहाडी समूदायले नेतृत्व गर्दा सही मानेमा संघीयताको अर्थ सार्थक हुन्छ मेरो बुझाइ हो । त्यसैले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’  उनले भने ।


ADVERTISEMENT

# # #


सभापतिमा उम्मेदवारीदिँदा हारजितले खासै अर्थ नराख्ने बताउँदै उनले मुद्दा स्थापित गर्नु प्रमुख विषय रहेको जिकिर गरे । ‘मेरो लागि हारजितले धेरै महत्व राख्दैन। इस्यु स्थापित हुनु प्रमुख विषय हो,’ उनले थपे,‘चुनावमा म आफ्नो मुद्दा अगाडि बढाउँछु। मलाई विश्वास छ सबैतर्फबाट सहयोग प्राप्त हुन्छ ।’

चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विदेश मामिला सल्लाहकार र कृष्णप्रसाद भट्टराईका विदेश मामिला सचिव भएर काम गरिसकेका छन्। भारतको बनारस विश्वविद्यालयबाट विद्यावारिधी गरेका चालिसेलाई एलेक्जेन्डर भोन हम्बोल्ट (एभिएच)ले सामाजिक वैज्ञानिकको उपाधि दिएको छ ।

त्यसैगरी उनी भारतको युजिसी र लन्डनको लिनियन सोसाइटी फेलो पनि छन् । अन्य प्रदेशहरुमा शनिबार प्रदेशको नेतृत्व चयन गर्न मतदान भइरहँदा प्रदेश २ मा आइतबार मनोनयन दर्ता गर्ने तयारी छ । आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गरेर सोमबार मतदान हुने बताइएको छ ।

विवादका कारण सर्लाहीमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुन नसकेपछि प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया लम्बिएको हो ।