काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना भइरहेको छ । मतगणना जारी रहँदा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिएका  छन् ।


ADVERTISEMENT


प्रारम्भिक मतगणनामै अग्रता लिएका लिङ्देनले करिब ३ हजार मत गणना सकिँदा १३७१ मतसहित अग्रता कायम राखेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२५४ मत पाएका छन् । हालसम्म २९६४ मत गनिसक्दा ३३९ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन समितिका राजु बस्नतेका अनुसार कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया बिहान ३ बजेबाट सुरू भएको हो । अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उनले बताए ।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो । सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ । राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए ।