– हिमालय पोष्ट विशेष संवाददाता


ADVERTISEMENT


१०४ वर्षीय राणा शासनलाई हटाएर प्रजातन्त्रको स्थापनाको महान उद्देश्यसहित भारतमा स्थापना भएको राष्ट्रिय काँग्रेसकोबारेमा हिमालयपोष्टले यस अघिको भाग–१ मा चर्चा गरिसकेको छ । काँग्रेस इतिहासको श्रृंखलाको यस भाग–२मा हामी ‘राष्ट्रिय काँग्रेस’ पार्टी ‘नेपाली काँग्रेस’मा कसरी रुपान्तरित भयो भन्ने चर्चा गरेका छौँ ।


ADVERTISEMENT

# # #


कलकत्ताको खाल्सा स्कूलमा नेपालको राजतन्त्र समाप्त पारेर प्रजातन्त्रात्मक शासनप्रणाली स्थापना गर्ने उद्देश्यका साथ पहिलोपल्ट नेपाली ‘राष्ट्रिय काङ्ग्रेस पार्टी’को स्थापना भए पनि पार्टीले ‘नेपाली कांग्रेस’को रुप लिन बाँकी नै थियो । तर, नेपालमा राणाविरोधी र प्रजातन्त्रका पक्षमा विभिन्न किसिमका गतिविधि हुन थालिसकेका थिए । नेपालभित्रका प्रजातन्त्रवादीहरुसँग राष्ट्रिय काङ्ग्रेसले सम्पर्क बढाउन थाल्यो । कालान्तरमा दरबार पसेका श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, विश्वबन्धु थापादेखि डा. तुलसी गिरीसम्म त्योबेला कांग्रेसप्रति झुकाव राख्ने भर्खरका तन्नेरी थिए, जो बीपीको व्यक्तित्वबाट प्रभावित थिए । उता, प्रजातन्त्रको चाहना राख्नेहरुमा कांग्रेस पार्टीको गठनले एकखालको उत्साह फैलाएकै थियो ।

यसैक्रममा अहिंसात्मक माध्यमबाट सम्पूर्ण जनसमर्थन जुटाएर नेपालमा प्रजातान्त्रिक शासन पद्धती स्थापना गर्ने मुख्य उद्देश्य पूरा गर्न नेपाली राष्ट्रिय कांग्रेसले पहिलो पटक विराटनगरमा मजदुर आन्दोलन चलायो । सोही आन्दोलनबाट युवा जुझारु राजनीतिक पुस्ता कांग्रेसमा विकसित भएको हो । सोही जुट मीलमा काम गर्ने तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरी शर्मा, युवराज अधिकारी, मनमोहन अधिकारी लगायतले मजदुरको प्रतिनिधित्व गरेर मिल मालिक समक्ष विभिन्न माग एवं प्रस्तावहरु पुर्याएका थिए । त्यतिबेलै गिरिजाप्रसाद कोइरालाकै अध्यक्षतामा विराटनगर मजदुर युनियन पनि गठन भएको थियो ।

कोइराला दाजुभाइ-तारिणीप्रसाद र गिरिजाप्रसादको विशेष नेतृत्वमा २००३ फागुन २१ बाट मजदुरहरुले आम हड्ताल सुरु भयो । आन्दालेनलाई सघाउन नेपाली राष्ट्रिय काङ्ग्रेसका बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई लगायतका थुप्रै नेताहरु जोगवनी पुगे । २००३ चैत १० गते का दिन विराटनगरको शहीद मैदानमा विशाल आमसभा भयो । त्यस सभामा बी.पी. कोइराला लगायतले सम्बोधन गरेपछि आन्दोलन झन् चर्किँदै गयो ।

दोस्रो दिन-चैत १२ गते बी.पी. कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारी, मनमोहन अधिकारीहरुलाई पक्रिएर धनकुटाको बाटो भोजपुर, ओखलढुंगा, रामेछाप, काभ्रे हुँदै करीब एक महिना लगाएर काठमाडौं पुर्याइयो ।

‘मजदुर आन्दोलनले झन् उग्र रुप लिँदै गयो । बी.पी.की आमा दिव्या कोइराला, बहिनीहरु नलिनी, इन्दिरा आचार्य, कामिनी गिरी, वीरप्रसाद श्रेष्ठ, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा समेतलाई पक्रिएर धनकुटा जेलमा पुर्याइयो । त्यसपछि पार्टीको निर्णयबाट करीब दुई हप्तासम्म चलेको मजदुर आन्दोलनलाई स्थगित गरियो’ (‘बिपी र कांग्रेस’, डा. तुलसी भट्टराई) ।

विसं २००३ चैत २८ गते जोगवनीमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भयो, जसले २००४ बैशाख १ बाट देशव्यापी रुपमा सत्याग्रह गर्ने निर्णय गर्यो । काठमाडौंमा ‘नेपाल नेशनल लीग’ नामक संस्था खोलेर गोपालप्रसाद रिमाल र दमनराज तुलाधरले आन्दोलनबारे जनचेतना फैलाउन थाले । विराटनगर, वीरगञ्ज, काठमाडौं जनकपुर, इलाम, झापा, सप्तरी, दाङ, नेपालगञ्ज आदि क्षेत्रमा सत्याग्रह आन्दोलन भए । काठमाडौंमा दुई हप्तासम्म विभिन्न मागसहित जुलुस, सभा, हड्ताल आदि भएका थिए । श्री ३ पद्मसमसेरले सत्याग्राहीका मागहरु पूरा गरिदिने भनेपछि आन्दोलन स्थगित भयो ।

मजदूर आन्दोलन र सत्याग्रहका बेला पक्राउ परेकाहरु पनि रिहा हुँदै गए । काठमाडौं जेलमा रहेका बी.पी. कोइरालाको स्वास्थ्यस्थिति ज्यादै बिग्रिँदै गएको थियो । त्यसैबेला सन् १९४७ अगस्ट १५ का दिन ब्रिटिश शासनबाट भारत स्वतन्त्र भयो । आन्दोलित नेपालमा यसबाट उत्साह थपियो ।

महात्मा गान्धी र जयप्रकाश नारायणले बिपीलाई जेलमुक्त गर्न राणा सरकारलाई पत्र पठाए । अन्य विभिन्न पत्रपित्रकामा बी.पी.को अवस्थाबारे छापियो । बी.पी.लाई जेलमुक्त गर्न राणाहरु बाध्य भए ।

बी.पी. कोइराला विराटनगरको मजदुर आन्दोलनबाट पक्राउ परेर काठमाडौं जेलमा राखिएपछि डा. डिल्लीरमण रेग्मी नेपाली राष्ट्रिय काङ्ग्रेसको कार्यवाहक सभापति बनेका थिए । बी.पी. जेलबाट छुटेर आएपछि बिपीलाई पुनः ‘सभापति’ पद हस्तान्तरण गर्ने मामिलामा रेग्मीले बखेडा झिके । यहींबाट पार्टीमा विवादको पहिलो विजारोपण भएको मानिन्छ ।

रेग्मीले अटेर गरेपछि नेपाली राष्ट्रिय कांग्रेसका प्रायः सबैसदस्य भेला भएर बी.पी.लाई सभापति बनाए । डिल्लीरमण गुट छुट्टै भयो । बी.पी. को सभापतित्वमा नेपाली राष्ट्रिय कांग्रेस अघि बढयो । २००४ माघ वसन्त पञ्चमीबाट ‘युगवाणी’ पत्रिका प्रकाशित हुन थाल्यो । नारायण भट्टराई, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्माको सम्पादनमा प्रारम्भ भएको युगवाणीका मुख्य सहयोगी महाकवि देवकोटा थिए । उता कलकत्ताबाट ‘इन्डिया टुडे’ पनि प्रकाशित हुन थालेको थियो ।
२००४ माघ २० गते नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन बनारसमा भयो । यो अधिवेशनले महात्मा गान्धीको हत्याबारे भत्सर्ना प्रस्ताव पास गरेको थियो । नेपालमा राणा विरुद्धको आन्दोलन अझ सशक्त पार्ने घोषणा गरियो । यसै मेसोमा आन्दोलनकै जगमा नेपाली कांग्रेस भन्ने नाम रहन गयो, जसको अर्को सन्दर्भ उत्तिकै रोचक छ ।

वि.सं ११९० मा जुद्धसमसेरले राणा परिवारलाई ‘ए’, ‘बी’, ‘सी’ श्रेणीमा विभाजन गरेका थिए । जसले गर्दा कमजोर वर्गमा पर्नेहरु रुस्ट थिए । ‘सी’ वर्गमा परेका कतिपयलाई धपाइयो भने कतिले स्वेच्छाले देश छोडे । यसै वर्गमा पारिएका सुर्वणसमसेर र महावीर समसेर चाहिँ कलकत्तामा थिए, जो राणाशासनको खिलाफमा थिए ।

राणा शासन ढाल्ने उद्देश्यले संघर्ष गर्न सुवर्णशमसेर र महावीर शमसेरलगायतले ‘नेपाल प्रजातन्त्र कांग्रेस’ स्थापना गरे । २००५ पौष १५ का दिन महेन्द्र विक्रम शाहको सभापतित्वमा विधिवत् यो पार्टी गठन भएको थियो । यसमा सूर्यप्रसाद उपाध्याय महामन्त्री थिए भने राजेश्वरी उपाध्याय, प्रेमबहादुर कंसाकार, सुवर्ण समसेर, महावीर समसेर, सुन्दरराज चालिसे आदि सदस्य थिए । ‘नेपालमा जनराज्य स्थापना र महाराजधिराजको मुक्ति’को उद्देश्य यो पार्टीले राखेको थियो ।
उता, नेपाली कांग्रेसको तेस्रो महाधिवेशन विसं २००५, फागुनमा सम्पन्न हुने भयो । शुवर्णशमसेर र बीपीबिच सहकार्यको चर्चा सुरुभयो, दुवै नेता निकट हुन थाले । यस्तैमा भारतको बिहार राज्यस्थित दरभंगामा सम्पन्न यही महाधिवेशनमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबिच एकता भयो र पार्टीको नाम राखियो, ‘नेपाली कांग्रेस’ ।

यसरी बनेको नेपाली कांग्रेसले २००७ सालको राणाविरोधी क्रान्ति, २०१४ सालको भद्र अवज्ञा आन्दोलन, २०३६ सालको जमनत संग्रहमा बहुदल पक्षको नेतृत्व, २०४६ सालको आन्दोलनको नेतृत्व, २०६२ सालको जनआन्दोलनको नेतृत्व हुँदै मुलुकमा हाल स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका हरेक आन्दोलनको नेतृत्व गर्दै आयो । आन्दोलन र इतिहासका गौरवहरुले ओतप्रोत कांग्रेस आज किन यति कमजोर ? आसन्न महाधिवेशनमा कांग्रेसजनहरुले कांग्रेस स्थापनाबारे माथि उल्लेखित इतिहास मनन गर्दै गम्भीरतापूर्वक सोचुन्, इतिहासबाट पाठ सिकून् ।

काँग्रेस श्रृङ्खला : भाग-१
कलकत्ताको खाल्सा स्कुलमा यसरी जन्मिएको थियो नेपाली कांग्रेस !

(सम्पादकीय नोट : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनको अवसरमा हिमालयपोष्टले नेपाली कांग्रेसको इतिहासको श्रृङ्खला सुरु गरेको छ । यो सामग्री हिमालय पोष्टको सम्पत्ति भएकाले अनुमति बिना प्रकाशन/प्रशारण गरिए कानुन बमोजिम कारबाहीको प्रक्रिया थालिने छ ।)