सुनसरी – दिनेश चौधरी स्मृति प्रतिष्ठानले सुनसरीको दुहवीमा आधारभूत विद्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


आर्थिक, सामाजिक कारणले विद्यालयसम्म जान नसकेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा प्रदान गर्ने अभिप्रायले आधारभूत विद्यालय सञ्चालन गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त विद्यालयको मंगलबार नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी समाजसेवी नेतृ भगवती चौधरीले उद्घाटन गरेकी छन् । सो अवसरमा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ का विपन्न, गरिब, मुसहर वस्तीका धेरै बालबालिकाहरु विद्यालय नगएको पाइएकोले उनीहरुलाई शिक्षासँग जोड्नका लागि आधारभूत विद्यालय स्थापना गरिएको बताइन् ।

‘समाज, राष्ट्र र व्यक्तिको सर्वाङ्गिण विकासको मेरुदण्ड नै शिक्षा हो । आर्थिक, सामाजिक तथा अन्य कारणले विद्यालयसम्म पुग्न नसकेका बालबालिकालाई विद्यालय पठाउनु पर्छ भनेर बानी लगाउन पनि आधारभूत विद्यालय खोलिएको हो ।’ प्रतिष्ठानकी संरक्षक समेत रहेकी नेतृ चौधरीले भनिन् ।

२१ औं शताब्दी विज्ञान र प्रविधिको भएको उल्लेख गर्दै नेतृ चौधरीले कुनैपनि कारणले बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहनु दुखःद भएको बताइन् । ‘गाँस, बास, कपाससँगै शिक्षा मानव विकासको महत्वपूर्ण आवश्यकता हो । कुनैपनि कारणले बालबालिकालाई शिक्षाबाट बञ्चित गरिनुहुन्न ।’ सुनसरी क्षेत्र नं. ३ का गरिब, मुस्लिम, थारु, मुसहर बस्तीका अधिकांश बालबालिकाहरु विद्यालयको पहुँचबाट बाहिर रहेपनि राज्यको ध्यान जान सकेको छैन । दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारका अधिकांश बालबालिकाहरु विद्यालय जाँदैनन् ।

प्रतिष्ठानका अध्यक्ष द्रब्यराज चौधरीले आधारभूत विद्यालयले विद्यालयसम्म जान नसकेका बालबालिकालाई पढ्न जाने बानी बसाउने र उपेक्षित, उत्पिडित समुदायमा शिक्षाको ज्योति फैलाउन सहयोग पुग्ने बताए ।

हाल विद्यालयमा १२० जना बालबालिका रहेका छन् भने, उनीहरुलाई पढाउन ३ जना शिक्षक र एक जना सहयोगीको व्यवस्था गरिएको छ । विद्यालय सञ्चालनार्थ आवश्यक जनशक्ति तत्कालका लागि प्रतिष्ठानले नै व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष चौधरीले बताए ।

प्रतिष्ठानले बालबालिकाका लागि आवश्यक पाठ्यपुस्तक तथा झोला समेत निःशुल्क उपलब्ध गराएको छ । साथै, दिउसोको खाना पनि व्यवस्था गरिएको छ ।

दिनेश चौधरी स्मृति प्रतिष्ठान आर्थिक शशक्तिकरणकी अगुवा महिला नेतृ भगवती चौधरीको श्रीमानको स्मृतिमा स्थापना गरिएको सामाजिक संस्था हो । २०६४ सालमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र युवाहरुका क्षेत्रमा विभिन्न सामाजिक काम गर्ने गर्दछ ।

 

नेतृ चौधरीका श्रीमान दिनेश चौधरी समाजको रुपान्तरणका लागि सक्रिय युवा थिए । ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत आर्थिक, सामाजिक, परम्परागत सांस्कृतिक कारणले पिछडिएका समुदायमा सचेतना फैलाउँदै सामाजिक काम गर्दै आएका चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा परी अल्पायुमै निधन भएको थियो ।

दिनेश चौधरीको असामयिक निधनपछि नेतृ चौधरीले उनकै स्मृतिमा दिनेश चौधरी स्मृति प्रतिष्ठान स्थापना गरेकी हुन् । पश्चिम नेपालको दाङमा जन्मिएर सुनसरीलाई कर्मथलो बनाएका दिनेश चौधरीलाई सामाजिक, आर्थिक शशक्तिकरणका क्षेत्रमा सफल अगुवाका रुपमा लिइन्छ ।