निर्वाचनको मिति नजिकिएसंगै सबै राजनीतिक दलहरुले चुनावप्रचार प्रसारलाई तिव्रता दिएका छन् । पहिलेका निर्वाचनमा एकै उम्मेदवार दुई ठाउँबाट उठ्न पाइन्थ्यो । पछि आफूलाई मन लागेको ठाउँ राजेर अर्को ठाउँ छाड्नु पथ्र्यो । तर नयाँ संविधानले ‘एक उम्मेदवार एक निर्वाचन क्षेत्र’ को व्यवस्था गरेपछि धेरै ठाउँमा शीर्ष नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


ADVERTISEMENT


काठमाडौँ क्षेत्र नं २ मा दोस्रो संविधान सभाको निर्वाचनमा एमालेका माधव नेपाल विजयी भएका थिए । सधैँ कम्युनिस्टले जित्ने त्यो क्षेत्र उनले पछि छाडेकाले उप निर्वाचनका कांग्रेसका दीपक कुईँकेल विजयी भए । अहिले नेपाली कांग्रेसले उनै कुईँकेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाएर पठाएको छ । यता वाम गठबन्धनका तर्फबाट एमालेका माधव नेपाल फेरि उठेका छन् भने काठमाडौँमा गएको स्थानीय तहको निर्वाचनमा राम्रो मत पाइएको विवकेशील साझा पार्टीले डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाएको छ । यसकारण २ नं. क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।


ADVERTISEMENT

# # #


यस अघिको उप-निर्वाचनमा विजयी भएका नेपाली कांग्रसका उम्मेदवार  कुईँकेलले यो प्रतिस्पर्धालाई कसरी लिएका छन् ? आफ्नो चुनावी अभियानलाई कसरी अगाडी बढाएका छन् ? प्रतिनिधि भएको तीन वर्षमा उनले त्यो क्षेत्रमा के-कस्ता कामहरु गरे ? विकास निर्माणका आगामी योजनाहरु के छन् ? लगायतका विषयमा कांग्रेसको उम्मेदवार उनै दीपक कुईकेलसंग हिमालयपोष्टले गरेको कुराकानी :

निर्वाचन मुखैमा आइसक्यो । तयारी कुन रुपमा अगाढी बढाइ रहनु भएको छ ?

हामीले निर्वाचनको तयारी थालिसकेका छौँ । जनताले मलाई पहिले पनि आफ्नो प्रतिनिधिको रुपमा छानेको कारणले म चुनावको बेला मात्रै होइन अघिपछि पनि दिनरात त्यहाँ खटिरहेको छु । जनताका बीचमा सधैँ सम्पर्कमा रहेको छु । त्यहाँ छोडेर गएका व्यक्ति पनि चुनाव लड्न आएका कारण हामीले निर्वाचनको प्रचारप्रसार गरिरहेका हौँ । नत्र भने म निरन्तर जनताको बीचमा गइसकेको हुनाले त्यतीधेरै चुनावमा प्रचार गर्नु पर्ने अवस्था मैँले देखेको छैन ।

२ नं क्षेत्रमा त कडै प्रतिस्पर्धा हुने भयो है ?

हाम्रो क्षेत्रमा अहिसम्म मैँले पहिलो पटक जितेको ठाउँ हो । नेपाली जनताले र २ नं क्षेत्रका जनताले पनि मदन भण्डारीले जबज ल्याइसके पछिदेखि अहिलेको स्थानीय चुनावसम्म एमाले पनि लोकतन्त्रवादी हो भनेर भोट हाले । तर उनीहरुले अहिले साम्यवादको यात्रा सुरु गरे । त्यसले गर्दा अहिले उनीहरुलाई जनता मत दिने पक्षमा छैनन् । लोकतन्त्रको पक्षमा जनताले मतहाल्छन् । नेपाली कांग्रेसलाई जनताले मत दिन्छन् । व्यक्तिगत र पार्टीगत रुपमा पनि जनताले मलाई मत दिन्छन् । पार्टीले लिएको नीतिका कारण पनि कम्युनिस्टलाई त्यहाँबाट भोट जाने अवस्था छैन । कांग्रेसको पल्ला भारी छ । हामीले प्रदेश र प्रतिनिधिसभाका दुबै निर्वाचन जित्छौँ ।

काठमाडौँ २ नं क्षेत्रमा वाम गठबन्धनले पहिले पनि निर्वाचन जितेका एमाले वरिष्ठ नेता माधव नेपाललाई पठाएको छ । यस्तै विवेकशील साझा पार्टीले पनि सुर्यराज आचार्यलाई उठाएको छ । यो बीचमा त्यहाँका जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

अहिले संसारभरि नै पहिचान प्रतिनिधित्वको लडाई चलेको छ । मानिसले आफ्नो परिचय, आफ्नो माटोको पहिचान खोजिरहेको छ । म त्यहीँ जेन्मेको, हुर्केको, त्यही ठाउँको माटोको प्रतिनिधि भएका हुनाले त्यहाँका दाजूभाई, दिदीबहिनीले मलाई आफ्नै ठानेका छन् । त्यसैले गर्दा जनताबाट अत्यन्त स्वागत पाइराखेको छु । हिजो तपाईले जति गर्नुभो यसका लागि तपाईलाई धन्यवाद छ । भोलि तपाईले गरेका कार्यलाई निरन्तरता दिनुस् । यसलाई सम्पन्न गर्नुस भनेर त्यहाँका दाजूभाईले भनिरहनु भएको छ ।

चुनावमा त उठ्नु भएको छ । अर्कातिर बलिया उम्मेदवार पनि छन् । त्यसैले यो निर्वाचनमा त्यहाँका मतदाताले दिपक कुईँकेललाई किन मत दिने ?

मैँले अघि नै भनेँ । त्यहाँका जनताले आफ्नो प्रतिनिधि भनेर भोट दिनुपर्छ । त्यहाँका जनताले मलाई आफ्नो मान्छे भनेर ठानेका छन् । जुनदिनदेखि म मा सामाजिक/राजनीतिक चेतना आयो । त्यो दिनदेखि म त्यही ठाउँमा म काम गरिरहेको छु । त्यसैले हिजो सांसद हुँदाखेरि होस् वा अहिले चुनाव लड्दाखेरि मेरो आचरण र व्यावहार एउटै रहेको छ । बाहिरबाट आएकालाई अर्काको ठाउँमा माया हुँदैन । तर म त त्यही ठाउँको हुँ नि । जति भित्रको मानिसले विकास गर्छ त्यती बाहिरबाट आएकोले गर्न सक्दैन ।

जितपछि तपाईका कार्य योजनाहरु के हुन ? २ नं क्षेत्रको विकासका लागि तपाईले के गर्नुहुन्छ ?

मैले उप-निर्वाचन लडिराख्दा त्यहाँ माधव नेपालले ९ हजार मतान्तरले निर्वाचन जितेर जानुभएको थियो । उहाँले निर्वाचनमा जनताका माझ गएर म यहाँकै मानिस हो । म कोटेश्वरमै बस्छु । यो ठाउँ छोड्दिन भन्नु भएको थियो । उहाँले छोडेर जानु भयो । जनताको मन असध्यै टुट्यो । त्यसपछि म उपनिर्वाचनमा उठिसकेपछि दुईवटा एजेण्डा बनाएको थिएँ । एउटा यो माटोको पहिचान राख्ने काम म गर्छु भनेर भनेको थिएँ । अर्को यो ठाउँको विकासको लागि बाटोघाटो लगायतको विकास गर्नेछु भनेर भनेको थिएँ  । हाम्रो पहिचान बोकेको शंकरापूर विलय हुने अवस्थामा मैले त्यसलाई छुट्टै नगरपालिका बनाउने काम मैँले गरेँ । २४ हजार मात्रै जनसङ्ख्या भएको नगरपालिका काठमाडौँमा बन्यो । त्यहाँका जनताको सहयोगले मैँले त्यहाँको पहिचान राख्ने काम गरेँ । गर्वका साथ म भन्छु ।

तपाईले रेकर्ड हेर्नसक्नु हुन्छ । संसद्मा सबैभन्दा धेरै र  पहिलो पटक आवाज उठाउने मानिस मै हुँ । अहिले चुनाव लडिरहेका साथीहरु पनि मञ्चमा हुन्थ्यो नि त । तर उहाँहरुले बोल्नु भएन । मैले त्यहाँ बोलिन मात्र कायम गराएँ पनि । अहिले शंकरापुर नगरपालिका आफ्नै पहिचानका साथ अगाडी बढिरहेको छ ।

२५ वर्षसम्म एमाले र माओवादीले जितेर जति काम गरेका छन् त्यो भन्दा बढि मैँले तीन वर्षमा गरेको छु । सम्पूर्ण कामहरुका टेन्डर आह्वान भएका छन् ।

ती कामहरु बन्नेक्रममा छन् । बज्रयोगिनी मन्दिरदेखि यावद सांस्कृतिक सम्पदाहरु भूकम्पले भत्कायो । ती सबैको निर्माणको काम प्रारम्भ भएको छ । साँखु हाम्रो अत्यन्त पौराणिक सभ्यताको क्षेत्र हो । त्यसको पुनर्निर्माण गर्नका लागि छुट्टै ढंगबाट हेर्नुपर्छ भनेर सांस्कृतिक सम्पदा बस्तीको रुपमा अगाडी बढाउनका लागि काम भएको छ । त्यसका लागि बजेट बिनियोजन भएको छ ।

त्यसै गरी जर्सिङपौवा जस्ता प्राकृतिक सौन्दर्यका पर्यटकीय स्थलहरुमा पार्कहरु बनाउने काम सुरु भएको छ । त्यस्तै काठमाडौको अव्यवस्थित बसाईलाई व्यवस्थित गर्नपर्छ भनेर मैँले संसद्मा जोडदार रुपमा कुरा उठाएपछि अर्जुन नरसिंह केसी मन्त्री भएको बेलामा भक्तपुर १ न. क्षेत्र र काठमाडौँ २ नं. क्षेत्रको १ लाख रोपनी जग्गामा स्मार्ट सिटी बनाउने काम प्रारम्भ भएको छ । त्यसको डीपीआरको प्रक्रिया सकिसकेको छ ।

यस्तै बाग्मती करिडोरको काम भइरहेको छ । प्रदूषित नभएको मनोहरा नदिको स्वच्छतालाई कायम राख्दै मनोहरा करिडोरको काम अगाडी बढेको छ । मैँले जम्मा तीन वर्ष मात्र काम गर्न पाएँ । उहाँहरुले गरेको २५ वर्षको कामभन्दा मैँले तीन वर्षभित्र गरेको काम बढी छ । मैले भोलि यो गर्छु भनेको छैन् । तर मैले जे कामहरु प्रारम्भ गरेको छु । ती कामहरुलाई निरन्तरता दिनका लागि पनि जनताका बीचमा गइरहेको छु । जनतालाई भन्न चाहान्छु कि मलाई एकपटक विश्वास गरेर यी कामहरुलाई सम्पन्न गर्नका लागि मत दिनुहोस् । जनताकै मत र विश्वासका आधारमा म अगाडी बढ्छु ।

राजनीतिक दलहरु निर्वाचन पछि मुलूकमा स्थायित्व र समृद्धि आउँछ भनिरहेका छन् । तपाईको विचारमा विकास र समृद्धि ल्याउने आधारहरु के हुन् ?

व्यक्तिगत स्वतन्त्रता रहन्छ भने, लोकतन्त्र रहिरहन्छ भने व्यक्तिमा असिमित क्षमता पैदा हुन्छ । एउटै व्यक्तिले पनि संसार परिवर्तन गरिदिन सक्छ । व्यत्तिगत क्षमतालाई अभिवृद्धि गर्ने काममा, जनशक्तिलाई अत्यन्त खुला हृदयले काम गर्नसक्ने वातावरण नेपाली कांग्रेसले बनाउन चाहिरहेको छ । हाम्रो क्षेत्रमा नजिकै पशुपतिनाथ र बौद्धनाथ हाम्रो सीमामा रहेको छ । त्यसैगरी त्रिभुवन एयरपोर्ट हाम्रो क्षेत्रमा रहेको छ । संसारका मानिस नेपालमा छिर्दा पहिलो पाइला मेरो क्षेत्रमा राख्छन् ।

संधै कम्युनिस्टहरुले जिते अनि अवस्था जर्जर बन्दै गयो । तर मैले त्यसको सुधार र सरसफाईका लागि जीवन शाही नागरिक उड्डयन मन्त्री भएपछि बजेट बिनियोजन गरेर त्यो काम सम्पन्न गर्ने चरणका पुगेको छ ।

त्यसैले कामपाका ३२ नं वडा र ९ नं. वडाका बस्तीलाई व्यवस्थित गर्दै आधुनिक तरिकाबाट बस्ती विकास गर्न सकियो भने नेपाललाई हेर्ने दृष्टिकोण फरक हुन्छ । यी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्दै हामीले समृद्धिको यात्रा तय गर्न सक्छौँ ।  पर्यटकीय र धार्मिक क्षेत्रमा लाखौँ पर्यटक ल्याउन सकियो भने समृद्धिको ढोका आफै खुल्छ । यो तीन वर्षमा मैले त्यस अनुसारको काम प्रारम्भ गरेको छु । त्यहाँका जनताको योग्यता/क्षमतालाई अधिकतम प्रयोग गर्दै समृद्ध बनाउनका लागि म नेतृत्व गर्न चाहन्छु ।

अन्त्यमा, जनताका लागि तपाईको सन्देश के हुन्छ ?

त्यहाँका जनतालाई कसलाई मत दिनुपर्छ भन्ने कुरा थाहा छ । आदारणीय दाजूभाई तथा दिदीबहिनीलाई म के भन्न चाहन्छु भने तपाईहरुको अन्तर्मनले आफ्नो प्रतिनिधि छान्नुस् । तीन वर्षदेखि म त्यहाँको प्रतिनिधि भएको छु । यो अवधीमा मैँले गरेको कर्म र आचरणलाई तपाईहरुले हेरेर मत दिनुस् भन्ने आग्रह गर्न चाहन्छु । म जबरजस्त मत दिनु पर्छ भन्ने मान्यता राख्ने मान्छे होइन । जनताका विश्वासको आधारमा मत पाउने भएकाले मेरो चरित्र, व्यावहार र मेरो पार्टीले लिएको नीति, मैले यो क्षेत्रको विकासका लागि खेलेको भूमिकाका आधारमा मुल्याङ्कन गर्नका लागि म आग्रह गर्न चाहन्छु ।