काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहायता मिलेनियम च्यालन्ज कर्पोरेसन (एमसीसी)बारे सरकार नै प्रस्ट नरहेको बताएका छन् ।


ADVERTISEMENT


केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णय सुनाउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका महासचिव शंकर पोखरेले एमसीसीबारे सरकारले एमालेलाई केही नबताएको जानकारी दिएका हुन् । उनले भने, ‘एमसीसीबारे सरकारले के गर्छ भन्ने विषय नै टुंगो लागेको छैन । किनकी न संसदले कार्यसूचिमा राखेको छ, न सरकारले हामीलाई केही कुरा बताएका छन् । संसदप्रति नै हाम्रा केही प्रश्नहरु छन् । जुन कुरा तपाईंहरुले थाहा पाइसक्नु भएको छ ।’


ADVERTISEMENT

# # #


एमसीसीबारे संसदमा बहस गर्नका लागि सरकार र सभामुखले सर्वप्रथम संसदको गतिरोध अन्त्य गर्नुपर्ने एमालेको माग रहेको छ । एमालेले पछिललो समय पार्टीले कारबाही गरेका माधव नेपाल लगायतका सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको लगायतका विषयमा निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

उनले भने, ‘कारबाही गरिएको सूचना मात्रै प्रकाशित गर्ने अधिकार प्राप्त सभामुखले अन्यथा गरेकोप्रति हाम्रो असहमति छ । अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि असहमति छ ।’

उनले थपे ‘न त उहाँ (सभामुख)ले आफूले गरेको गल्ती सच्याउने काम गर्नु भएको छ, न त उहाँले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नु भएको छ । त्यसकारण यो प्रक्रिया नटुंगिकन नेकपा एमाले अन्य विषयमा प्रवेश गर्दैन ।’ एमालेको प्राथमिक विषय नै संसदको अवरोध हटाउनका लागि सत्तापक्षले नै भूमिका खेल्नु पर्छ भन्ने रहेको उनले बताए ।