काठमाडौँ– आउँदै गरेको स्थानीय तहमा सहभागी हुनका लागि दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गरिरहेका दलहरुले मात्रै आफ्नो अर्थात् यसअघि प्राप्त चुनाव चिन्ह पाउने भएका छन् ।
आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने १ सय १२ दलमध्ये संसद्मा प्रतिनिधित्व गरी निर्वाचन आयोगमा दर्ता भएका दललाई मात्र उनीहरुले तोकेको चुनाव चिन्ह पाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।


ADVERTISEMENT


संसदमा प्रतिनिधित्व गर्ने दलहरुमध्ये निर्वाचन आयोगको मिति २०७२ फागुन २१ गते को निर्णयबाट दल दर्ता खारेज भएको समाजवादी जनता पार्टी र संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नभएकाले स्थानीय चुनावमा भाग लिन नपाउने बताइएको छ ।


ADVERTISEMENT

# # #


यद्यपी तीन वर्षसम्म आफ्नो आय–व्यय विवरण पेश नगरेर दर्ता खारेज गरेको समाजवादी जनता पार्टीलाई भने निर्वाचनमा सामेल गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसबारे आयोगले निर्णय लिन बाँकी रहेको आयोग स्रोतले जानकारी दियो ।

अन्य दलको चुनाव चिन्ह आयोगले तोक्ने
निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार संसदमा प्रतिनिधित्व गर्ने बाहेक आयोगमा दर्ता भएका अन्य दललाई आयोगले नै स्वतन्त्र रुपमा निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

६ किसिमका मतपत्र छापिने
आयोगका अनुसार स्थानीय निर्वाचनमा साना–ठूला गरेर ६ किसिमका मतपत्र छापिने भएको छ । आयुक्त दाहालका अनुसार आइतबारदेखि नै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाई सुरु गर्नेछ ।

“हामीले जनक शिक्षा सामग्रीको निरीक्षण गरिसकेका छौं,” उनले भने, “आजदेखि छपाईको काम समेत सुरु हुन्छ । दलगत दर्ताको अनुपातका आधारमा मतपत्रको साइज निर्धारण गरिएको हो ।”

आयोगमा अधिकतम काठमाडौंबाट ४७ दल दर्ता छन् भने मनाङमा ७ दलमात्रै दर्ता छन् । दर्ता बाहेक स्वतन्त्र उमेदवारका लागि पनि चुनाव चिन्ह राखिने आयोगले जनाएको छ ।

कस्तो हुन्छ मतपत्र र ?
आयोगका अनुसार स्थानीय तह निर्वाचनमा एक जना मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्नेछ । जसमा गाउँपालिका तथा नगरपालिका प्रमुख–१, उपप्रमुख–१, वडा अध्यक्ष–१, वडा महिला सदस्य–१, दलित महिला सदस्य–१, खुल्ला सदस्य–२ गरी सात ठाउँमा मतदान गर्नुपर्ने छ । सोही अनुसार मतपत्रको डिजाइन तयार गरेर छपाईका लागि पठाइएको आयुक्त दाहालले जानकारी दिए ।