काठमाडौं – बिना धितो नै अर्बौ रकम लगानी गरेकै कारण सहकारीहरुलाई ऋण प्रवाह गर्ने र वित्तीय कारोबार गर्ने ‘होलसेलर’ सँस्था राष्ट्रिय सहकारी बैंक लिमिटेड डुब्ने खतरा बढेको छ ।


ADVERTISEMENT


सहकारी बैँकले एउटै सहकारीलाई बिना धितो ३० करोडसम्म आँखा चिम्लेर लगानी गरेको पाइएको छ । यसरी खुलेआम बिना धितो नै बैंकले १२ अर्ब भन्दा बढी लगानी गरेको भेटिएको हो । जबकी सहकारी बैँकको कूल कर्जा नै ३५ अर्ब हाराहारी मात्रै रहेको छ ।


ADVERTISEMENT

# # #


ललितपुरको कुपण्डोलस्थित सहकारी बैंकले कार्यक्षेत्रभन्दा माथि गएर गैरकानूनी रुपमा बिना धितो धमाधम ऋण प्रवाह गर्दा आर्थिक असुरक्षा बढेको बताईएको छ ।

वित्तीय कारोबार ऐन अनुसार ऋण प्रवाह गर्दा सोबापतको बै‌ंकले धितो लिनुपर्ने हुन्छ । हाल नेपालमा साना कर्जाहरुमा बिना धितो पनि थोरै रकम ऋण दिने गरिए पनि ठूला कर्जा प्रवाह गर्दा बै‌ंकले यस्तो गैर वित्तीय काम गर्न नपाउने बिज्ञहरु बताउँछन् । गैरकानूनी रुपमा मनोमानी ढंगले कर्जा प्रवाह गर्ने बै‌ंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बै‌ंक, सहकारी बिभाग लगायतका नियमनकारी निकायहरुले कारबाही गर्ने प्राबधान छ ।

कूल कर्जाको एक तिहाई रकम नै बिना धितो सहकारीमा लगानी गरेर बैँकले आम जनताको अप्रत्यक्ष रुपमा सहकारीहरु मार्फत जम्मा भएको रकमको व्यापक अपचालन गरेको आरोप लागेको छ । ३० करोड भन्दा बढी रकम बिना धितो दिनु भनेको स्वार्थ समूह, आफन्त या रकम हिनामिना गर्न नै यसो गरिएको हुनुपर्ने आँकलन गर्ने प्रशस्त ठाउँ देखिएको बै‌ंक वित्तका जानकारहरु बताउँछन् ।

सहकारी बैँकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले भने बिना धितो ऋण प्रवाह भएको विषयलाई स्वीकार गर्दै त्यस्तो ऋण प्रवाहबाट कुनै पनि असुरक्षा नहुने दाबी गरेका छन् । हिमालय पोष्टसँगको जिज्ञासामा उनले सहकारी बैंकले सुरक्षित तबरबाट नै वित्तीय कारोबार गरिरहेको बताउँदै सबैलाई ढुक्क हुन आग्रह समेत गरेका छन् ।

सहकारी विभागले पनि सहकारी बैंकका विषयमा गुनासा र समस्याहरु सुनिरहेको बताएको छ । विभागका रजिष्टार झलकराम अधिकारीले समेत असुरक्षित तवरबाट लगानी गर्न नहुने बताएका छन् । असुरक्षित र गैरकानूनी लगानी या कारोबार देखिए अनुसन्धान अघि बढाएर कारबाहीको दायरामा ल्याउने समेत उनले जानकारि दिएका छन् ।