काठमाडौं – राष्‍ट्रिय सभाको निर्वाचन आगामी माघ १२ मा गर्नुपर्नेछ । निर्वाचनका लागि २० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता गर्ने कार्यसूची भए पनि सो काम हुन सकिरहेको छैन । नेकपा (माओवादी केन्द्र) महाधिवेशनमा होमिएको कारण पनि मनोनयन पत्र दर्ता गर्ने कार्यसूची ढिलाई भएको बताइएको छ ।


ADVERTISEMENT


उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकै आइसक्‍दा पनि सत्ता गठबन्धनमा आबद्ध दलहरूले साझा उम्मेदवार चयन गर्न नसकेका हुन् । साझा उम्मेदवार बनाएर चुनावमा जाने तय भए पनि उम्मेदवार छनौटको विषयमा ढिलाइ भएको हो । नेकपा माओवादी केन्द्र महाधिवेशनमा होमिएका कारण उम्मेदवार छनौटमा ढिलाइ भएको नेताहरूको भनाइ छ ।


ADVERTISEMENT

# # #


माओवादीको महाधिवेशन सकिएलगत्‍तै उम्मेदवारका विषयमा छलफल हुने सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिका एक सदस्यले बताए । उनकाअनुसार उम्मेदवार छनौटका विषयमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल भने हुन बाँकी छ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभाका मतदाताहरूमा प्रदेश सभा सदस्यहरू तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू मतदाता हुन्‍छन् ।