काठमाण्डौं-लामो समयदेखि विराटनगरमा बसेर अवैध ढंगले हुन्डीको कारोबार गर्दै आएका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


ठूलो परिमाणमा संगठित रूपमा हुन्डीको अवैध कारोबार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरीले विराटनगर ७ का अनुप सेठिया, ललित सेठिया, विमलकुमार चिरानिया, श्रवणकुमार विश्वास, सुनसरी दुहवी ६ का बलराम विश्वास र भारत बिहार सुन्दरपुरका पंकज कर्णलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ८६ लाख ५९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सहयोगीले मोबाइलमा भाइबरमार्फत चिठ्ठा परेको बताएर नेपाली नागरिकबाट करोडौँ रुपैयाँ ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल र पैसा बुझेका आइएमईका रसिदहरू पनि बरामद गरेको छ । पक्राउ परेका सबैलाई ठगी आरोपमा मुद्दा चलाउन म्याद थप गरिएको र अनुसन्धानपछि सम्पत्तिशुद्धीकरणमा पनि मुद्दा दर्ता गरिने मोरङका एसपी अरुण विसीले बताए ।

  • यसरी पक्राउ परे मुख्य नाइके सेठिया
    पटकपटक मोरङ प्रहरीले चिठ्ठामा ठगी गर्ने व्यक्तिहरूलाई पक्राउ गर्दै आएको थियो । तर, गहन अनुसन्धान गरेको थिएन । प्रहरी फाट्टफुट्ट कार्बाहीमै सीमित थियो । गएको ८ असोजमा मोबाइल फोन र भाइबरबाट लाखौँको चिठ्ठा परेको लोभ देखाएर ठगी गर्ने एक गिरोहका ५ जना सदस्यलाई प्रहरीले मोरङको रानीबाट पक्राउ गरेको थियो । उनीहरूले विभिन्न व्यक्तिको मोबाइल र भाइबरमा सन्देश पठाएर ५० लाख रुपैयाँको चिठ्ठा परेको भन्दै लोभ देखाएर ट्याक्स तिराउने र विराटनर १५ स्थित गौरव बचत तथा ऋण सहकारी संस्थाको आइएमईमा पटकपटक पैसा पठाउन लगाएर ११ लाख रुपैयाँ ठगेका खुलेको थियो ।

प्रहरीले त्यसवेलै ठगीमा अन्तर्राष्ट्रिय गिरोहको हात रहेको र नेपालमा मुख्य नाइके रहेको शंका गरेको थियो । त्यतिवेला गिरोहका सदस्यहरू विराटनगर १५ का भोला ठाकुर, विशालकुमार रोय, अजय मण्डल, विराटनगर १७ का वसन्तकुमार पासवान र भारत जोगबनीका राजेशकुमार राम पक्राउ परेका थिए । उनीहरूले धादिङ थाक्रे गाउँपालिका ११ का विकास भुजेललाई ५० लाखको चिठ्ठा परेको भन्दै पटकपटक गरेर ट्याक्सको बहानामा ११ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरूले भारतबाट फोन गरे पनि पैसा भने नेपालमै बुझेका थिए । लामो अनुसन्धानपछि मोरङ प्रहरीले विराटनगरमा बसेर वर्षौँदेखि अवैध रूपमा हुन्डी कारोबार गर्दै आएका अनुप सेठियाले अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा आबद्ध भएर कारोडौँ रुपैयाँ ठगी गर्ने गरेको पत्ता लगाएको हो ।

पर्वत देउपा गाउँपालिका २ की संगीताकुमारी गुरुङ र सुनसरीको धरान उपमहानगर १५ का लालबहादुर मगरले आपूmलाई चिठ्ठाको लोभ देखाएर लाखौँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले सेठियाको सञ्जाल पत्ता लगाएको हो ।

गुरुङले चिठ्ठाको लोभमा परेर ट्याक्सका लागि भन्दै पटकपटक गरेर २ लाख ५ हजार रुपैयाँ आइएमईमार्फत बुझाएकी थिइन् । तर, उनलाई परेको भनिएको ४० लाख रुपैयाँ चिठ्ठा हात नपरेपछि उनले आफू ठगीमा परेको थाहा पाएकी थिइन् । यसैगरी, मगरले पटकपटक गरेर ३ लाख ४८ हजार रुपैयाँ बुझाए पनि चिठ्ठा हात नपरेपछि ठगिएको चाल पाएका थिए ।

मगर र गुरुङले नै अनुप सेठियाविरुद्ध मोरङ प्रहरीलाई किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले विराटनगरका अवैध हुन्डी कारोबारीको नाइके अनुप सेठिया भएको पत्ता लगाएको थियो । सुरुमा सुनसरीको दुहबी घर भई विराटनगर बसेर पढ्दै आएका गिरोहका सदस्य बलराम विश्वासलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि मात्र चिठ्ठामा ठगी गर्ने गिरोहका मुख्य नाइके अनुप सेठिया भएको खुलेको थियो । सेठियाले देशभर तीन सय बढी एजेन्टको सञ्जाल बनाएर भाइबर, मोबाइल र इन्टरनेटमार्फत चिठ्ठा प¥यो भनेर ठगी गर्ने गरेका प्रहरीले जनाएको । उनले देशभरमा रहेका आफ्ना एजेन्टमार्फत दैनिक एक करोड रुपैयाँसम्म संकलन गर्ने गरेको प्रहरीको दाबी छ । एसपी विसीले ठगी गर्ने गिरोह पक्राउ परेको जानकारी पाएपछि धमाधम पीडितहरू सम्पर्कमा आउन थालेका बताए ।

  • यसरी गर्थे सेठियाले ठगी
    मुख्य योजनाकार सेठियाले भतिजा ललित र नातेदार विमलकुमारमार्फत एजेन्टहरू बनाउने गर्थे । सेठिया र उनका आफन्तहरू कोर टिममा रहेर ह्याक गरिएका मोबाइल नम्बरहरूमार्फत मोबाइलमा फोन गरेर वा भाइबरमा एसएमएस पठाएर चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई लोम्याउने गर्थे । उनीहरूले कहिले भारत, कहिले पाकिस्तान, कहिले खाडी मुलुकका नम्बरहरूमार्फत फोन गर्ने र एसएमएस पठाउने गरेका प्रहरीले जनाएको छ । सुरुमा उनीहरूले ठूलो रकमको चिठ्ठा परेको लोभ देखाएर ट्याक्सबापत थोरै पैसा मागेर लोभको जालोभित्र छिराउने गर्थे । जालोमा परेपछि एजेन्टहरूमार्फत पटकपटक आइएमईमार्फत पैसा असुल्ने गर्थे । प्रहरीका अनुसार एजेन्टहरूको काम लोभिएकाहरूसँग सम्पर्क बनाएर आफ्नो नामबाट पैसा जिम्मा लिनु र ल्याएर सेठियालाई बुझाउने हुन्थ्यो । यसबापत एजेन्टहरूले मोटो कमसिन पाउँथे ।
  • को हुन् अनुप सेठिया
    अनुप सेठिया भारतको राजस्थान राज्यको बिकानेरवासी हुन् । उनी र उनको परिवार ०४५ सालतिर विराटनगर आएको खुलेको छ । विराटनगरमा सिनेमा हल संचालन गर्ने एक मारवाडीको सहयोगमा विराटनगर आएका उनीहरूले मेनरोडमा फेन्सी पसल सञ्चालन गरेका थिए । पछि हुन्डी कारोबारमा लागेर अकुत सम्पत्ति कमाएपछि उनीहरूले नेपाली नागरिकता सहज रूपमा लिएको खुलेको छ । सेठियाले विराटनगर मेनरोडमा करोडौँ मूल्यको घर बनाएर सेठिया सुपरमार्केटसमेत संचालन गरेका छन् । सेठियाले अवैध हुन्डी कारोबार गर्छन् भन्ने विराटनगरका प्रायः सबैलाई जानकारी थियो । सञ्चारमाध्यममा पटकपटक समाचार आए पनि प्रहरीले सेठियाको अफिसमा कहिल्यै छापा मार्दैनथ्यो । लामो समयदेखि ठगी र अवैध हुन्डी कारोबारमा सहभागी सेठिया शुक्रबार पहिलोपटक पक्राउ परेका हुन् ।