काठमाडौं – कोभिड संक्रमण बढ्दै जाँदा सरकारी सेवा नै प्रभावित हुन थालेको छ । संक्रमण तीव्र गतिमा फैलिन थालेपछि यसले नीतिगत तहदेखि नागरिकलाई सार्वजनिक सेवा प्रवाह गर्ने निकायसम्ममा प्रभावित गरेको छ ।


ADVERTISEMENT


अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नै आइसोलेसनमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड संक्रमण पुष्टि भएपछि उनीसँगै बैठकमा सहभागी भएका देउवा पनि आइसोलेसनमा बसेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री स्वयं आइसोलेसनमा रहेका र मन्त्रीहरू पनि कोही आइसोलेसनमै रहेका तथा कोही कन्ट्याक्ट ट्रेसिङमा परेकाले मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन । २१ पुसयता मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । एक सातामा मन्त्रिपरिषद्का दुईवटा नियमित बैठक बस्ने चलन छ ।

विभिन्न सरकारी कार्यालयका शीर्ष तहका कर्मचारीहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ । कोभिड संक्रमण नियन्त्रणको समन्वय गर्ने कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख सचिव रामप्रसाद थपलिया नै संक्रमित भएका छन् । प्रमुखलाई नै संक्रमण पुष्टि भएका कारण केन्द्रको बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य तथा आपूर्तिसचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । मुख्यसचिव शंकरदास बैरागीदेखि परराष्ट्रसचिव भरतराज पौड्यालसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

संक्रमण तीव्र बन्दै जाँदा सिंहदरबारभित्रै कैयौँ कर्मचारी संक्रमित भएका छन् । संक्रमितको एकीकृत तथ्यांक भने आएको छैन । पाँच हजारजना कर्मचारी रहेको सिंहदरबारमा संक्रमित बढिरहँदा सेवा नै प्रभावित भएको छ ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चकै मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र अन्य आठजना कर्मचारी पनि संक्रमित भएका छन् । महालेखापरीक्षक कार्यालयमा संक्रमण फैलिएको छ ।

६–७ जनामा संक्रमण पुष्टि भएको कार्यालयका एक कर्मचारीले बताए । त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल पनि संक्रमित भएर आइसोलेसनमा छन् । अध्यागमन विभागमा पनि आठजनामा संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका दैनिकबाट ।