काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले ४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन् ।


ADVERTISEMENT


समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गर्ने बताएका हुन् । आयोगले माघको पहिलो हप्ताभित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ ।


ADVERTISEMENT

# # #


मन्त्री खतिवडाले अहिलेको सरकार चुनावबाट नभागेको समेत बताएका छन् । तीनै तहको चुनाव एकैपटक गराउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले प्रदेश र संघको चुनावको मिति पछि मात्रै तोकिने बताए ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विशेष डेस्क सञ्चालन गरी नियमित खोप सञ्चालन गरिएको बताए ।

चैत महिनाभित्र १८ वर्षमाथिका लक्षित समूहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै उनले सो समयमा लक्ष्य प्राप्ति गर्ने समेत दाबी गरे ।

सरकारसँग पर्याप्त खोप भए पनि नागरिकले खोप नलगाएको भन्दै अब जनचेतनाका कार्यक्रमलाई समेत अगाडि बढाउने उनले बताए । मन्त्री खतिवडाले १८ वर्षमाथिका लक्षित समूहका ६० प्रतिशतले मात्र पूर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो मात्राको खोप लगाएको दाबीसमेत गरे ।

मन्त्री खतिवडाले कोभिडविरुद्ध खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार जुटेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउने गरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरेर रकमको समेत जोहो गरिसकेको उनको भनाइ छ ।