राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कपिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वामगठबन्धनका कारण देशमा लोकतन्त्र संकट पर्न सक्ने भन्दै थापा दुर्इ दर्जन कार्यकर्तासहित आइतबार कांग्रेस प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


ललितपुर १ ले आयोजना गरेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलार्इ पार्टीमा स्वागत गरे । थापा तत्कालीन राप्रपा नेपालको ललितपुर जिल्ला सभापतिसमेत हुन् । लोकतान्त्रिक शक्तिलार्इ बलियो बनाउन आफू कांग्रेसमा प्रवेश गरेको उनले बताए। उनले भने, लोकतन्त्रको भविष्यलार्इ लिएर चिन्ता उत्पन्न भएको छ लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको विकल्प छैन ।


ADVERTISEMENT

# # #


राप्रपा ललितपुरका पूर्व जिल्ला कोषाध्यक्ष चिनियाराम बिष्ट कांग्रेस प्रवेश गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य धनबहादुर केसी र नेकपा एमालेको भातृ संस्था यूवा संघ गोदावरी नगरपालिकाका अध्यक्ष सुरेश थापामगर पनि कांग्रेस प्रवेश गरेका छन् ।

राप्रपा एमाले र माओवादीबाट कांग्रेसमा प्रवेश गरेकाहरुलार्इ स्वागत गर्दै कांग्रेस नेता खाणले अधिनायकवादबाट देशलार्इ बचाउन एकतावद्ध हुने समय आएको दावी गरे । उनले भने, वामगठबन्धनका नाममा देशलार्इ फेरी अधिनायकवादमा लैजाने प्रपञ्च हुँदैछ, यसबाट बचाउन र देशलार्इ समृद्धितर्फ लैजान कांग्रेस बलियो हुनु आवश्यक छ । उनले आसन्न निर्वाचन लोकतन्त्र पक्षधर र अधिनायकवादीहरुबीचको जनमतसंग्रह भएको टिप्पणी गरे ।

कार्यक्रममा अर्थराज्यमन्त्री एवम् कांग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार उदय शम्शेर राणाले शान्ति र संविधान कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकाले संविधानको कार्यान्वयनका लागि कांग्रेसको विकल्प नरहेको दावी गरे । उनले वामगठबन्धन संविधानको खिलापमा रहेकाले संविधानको स्थायित्वका लागि कांग्रेसका पक्षमा उभिन आग्रह गरे ।