गलकोट– ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


ADVERTISEMENT


दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो ।


ADVERTISEMENT

# # #


दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिएका छन् । दुई वर्षदेखि विद्युत् उत्पादन भएता पनि त्यसमध्ये उत्पादनको आधा विद्युतसमेत गाउँमा खपत नभएको जनाउँदै उनले भने, ‘गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ । अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ । गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ । प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ । सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ । केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र अर्को छ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ ।

सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उहाँको भनाइ छ । स्थानीय जलविद्युत् समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ । रासस