काठमाण्डौं-राजधानी काठमाडौँको अति व्यस्त ठाउँ रत्नपार्क, जमल, पुरानो बसपार्क, न्युरोड, सुन्धारा, असन, इन्द्रचोक लगायतमा प्रत्येक घण्टा दुई लाख मानिस विभिन्न काम विशेषले ओहोरदोहोर गर्छन् । तर यस्तो व्यस्त ठाउँमा पाँचवटा मात्रै सार्वजनिक शौचालय छन् ।  त्यो जनसङ्ख्या हेर्दा लाखौँले एउटा सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ । पाँचौँ विश्व शौचालय दिवसको अवसरमा सोमबार राजधानी आयोजित ‘सार्वजनिक शौचालयको अवस्था’ विषयक छलफलमा यस्तो जानकारी गराइएको हो ।


ADVERTISEMENT


खानेपानी तथा ढल निकास विभागका अनुसार देशभरका साना र ठूला गरी दुई सयको हारहारीमा सार्वजनिक शौचालय छन् । तीमध्ये सबैभन्दा बढी व्यस्त महानगर तथा देशको राजधानी काठमाडौँ उपत्यकामा ८६ वटा रहेका छन् । तीमध्ये पनि झण्डै ५० प्रतिशत मात्रै सञ्चालनमा रहेका छन् । कतिपय शौचालय सडक विस्तारका नाममा भत्काइएका छन् भने केही मर्मतको अभावले सञ्चालन नभएको खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील संस्था गुथीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा त्यस विभाग अन्तर्गतको वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले अहिलेसम्म सञ्चालनमा रहेका अधिकांश सार्वजनिक शौचालयलाई सेवाभन्दा पनि व्यापारिक दृष्टिकोणले बढी प्रयोगमा ल्याउन खोजिएको बताए ।
सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म एक घर एक शौचालय हुने भनिए पनि त्यो लक्ष्य पूर्ण हुन सकेन । प्रमुख श्रेष्ठले सहस्राब्दी विकासको लक्ष्य पूर्ण हुन नसके पनि लक्ष्यको नजिक ९३ प्रतिशत घरधुरीमा शौचालयको व्यवस्था भने भइसकेको जानकारी गराए ।

सरसफाई अभियन्ता प्रकाश अमात्यले नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियानकै रूपमा चले पनि अहिले पनि सात प्रतिशत घरधुरीका बासिन्दाले निजी शौचालय बनाउन नसकेको बताए । राजधानी रहेको काठमाडौँ महानगरपालिकालाई समेत अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन । खानेपानी तथा ढल निकास विभागका अनुसार काठमाडौँ उपत्यकामा रहेका घरमध्ये एक हजार १२५ घरधुरीमा अहिलेसम्म शौचालय छैनन् ।

पूर्वविज्ञान तथा वातावरणमन्त्री गणेश साहले सार्वजनिक शौचालय बनाउनुभन्दा पनि त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । उनले सार्वजनिक शौचालय निर्माण गर्न लाग्ने लागतमध्ये न्यूनतम एक प्रतिशत त्यसको सरसफाइमा छुट्याउनुपर्ने र अब बनाउँदा त्यो अनुसार योजना गराउन सरोकारवालालाई आग्रह गरेको बताए । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र तीन सयवटा सार्वजनिक शौचालय निर्माण गरिने र ४० वटाको निर्माणका लागि प्रक्रिया सुरू गरिसकिएको जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् । जसमा सबैभन्दा बढी अफ्रिकी मुलुक र नेपालजस्ता विकासोन्मुख मुलुक रहेका छन् । त्यसमा पनि शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका छन् । ‘फोहोर पानीको व्यवस्थापन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि विश्व शौचालय दिवस मनाइयो ।

हरेक वर्ष नोभेम्बर १९ मा मनाइने यो दिवसमा शौचालय र सरसफाइसँग केन्द्रित भएर विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।