काठमाण्डौं-कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न गराउनु बालअधिकारविरुद्धको कार्य भए पनि पछिल्लो निर्वाचनमा तिनको अत्यधिक प्रयोग भएको खुलेको छ । स्थानीय तह निर्वाचनमा धेरै बालबालिका प्रयोग भएको तथ्यांक सार्वजनिक भएको हो ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) का अवसरमा सरकार र केन्द्रीय बालकल्याण समितिले सोमबार राजधानीमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय निर्वाचनमा ६ हजार ६ सय ६१ जना बालबालिका प्रयोग भएका छन् । केन्द्रीय बालकल्याण समिति तथा ५७ जिल्ला बालकल्याण समितिबाट प्राप्त विवरणअनुसार निर्वाचनपूर्व चार हजार सात सय चार जना, निर्वाचनको दिन एक सय ३९ जना र निर्वाचनपश्चात् एक हजार आठ सय १८ जना बालबालिका प्रयोग भएको प्रतिवदेनमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, निर्वाचनमा विभिन्न राजनीतिक दलका गतिविधिका क्रममा पाँच सय ७९ वटा घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । यो संख्या अनुगमन गरिएका स्थानको मात्रै हो । अनुगमन गरिएकामध्ये ५३ प्रतिशत (१ सय ५३ वटा) पहिलो चरण, ४७ प्रतिशत (१ सय ३८ वटा) दोस्रो चरणमा र ५० प्रतिशत (२ सय ८८ वटा) बालबालिकालाई तेस्रो चरण निर्वाचनमा प्रयोग गरिएको हो । निर्वाचनक्रममा विभिन्न दलले आमसभा, र्‍याली, मनोनयन दर्ता, घरदैलो कार्यक्रम, सांस्कृतिक कार्यक्रम, प्रचार सामग्री बोक्ने तथा टाँस्ने, टिसर्ट लगाउनेलगायत गतिविधिमा ६ हजार ६ सय ६१ जना बालबालिकालाई प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विभिन्न जिल्लाबाट प्राप्त प्रतिवेदनअनुसार सबैभन्दा बढी कांग्रेसले ३० प्रतिशत अर्थात् दुई हजार २३ जना बालबालिकालाई निर्वाचनका गतिविधिमा प्रयोग गरेको पाइन्छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रले २७ प्रतिशत (एक हजार ८ सय १२), एमालेले २६ प्रतिशत (एक हजार सात सय ११), राजपाले ६ प्रतिशत (४ सय १५), संघीय समाजवादी फोरमले ६ प्रतिशत (३ सय ६७), राप्रपाले तीन प्रतिशत (२ सय २०) र अन्य (नयाँ शक्ति, नेमकिपा, जनमोर्चालगायत) ले दुई प्रतिशत (१ सय १३) बालबालिकालाई प्रयोग गरेको देखिन्छ ।