लामाटारमा मोबाइलले टावर टिप्दैन । लामाटार–लाकुरी भञ्ज्याङ–पनौती जोड्ने सडक कच्ची छ । लाकुरी भञ्ज्याङ र त्यहाँ वरिपरिका स्थानीयवासी सहर पुग्न ढुंगिन बसपार्कसम्म आउन झन्डै एक घण्टा पैदल हिँड्नुपर्छ । ग्वार्कोबाट ८ किमि पूर्वी भेगमा पर्ने लामाटारमा नेताहरू पुगेका छैनन् । यसअघिका निर्वाचनमा राजधानीको दुर्गम र बत्तीमुनिको अँध्यारो भनिने क्षेत्रको विकासका नारासहित नेताहरू मतदाता रिझाउन पुग्थे । यसपटक स्थानीयवासी उम्मेदवारहरू कस्ता योजना लिएर आउलान् भन्ने पर्खाइमा छन् ।


ADVERTISEMENT


लामाटार ढुंगिनमा ६३ वर्षीय बहादुर विक भूकम्पबाट ध्वस्त घरनजिकै टहरामा फलामको काम गरिरहेका भेटिए । उनले फलामको काम गरेबापत गाउँबाट वार्षिक रूपमा खाद्यान्न पाउने गरेका छन् । खेतीपाती केही नभएकाले पुख्र्यौली पेसाबाट गुजारा चलाउँदै आएका उनले पहिला बास दिनेलाई प्राथमिकतामा छन् । विक भन्छन्, ‘जसले जति विकास निर्माणका कुरा गरे पनि पहिला टाउको लुकाउने छानो चाहियो ।’


ADVERTISEMENT

# # #


ढुंगिनका ५० वर्षीय कृष्ण विश्वकर्मा पनि फलामकै काम गर्छन् । उनी पनि फलामको काम गरेबापत विभिन्न घरबाट पाउने अन्नले जीविकोपार्जन गर्दै आएका छन् । छिमेकीको जग्गामा टहरा बनाएर बसेका उनले भूकम्पले ध्वस्त पुनर्निर्माण र लक्षित वर्गलाई विशेष प्राथमिकतासहित विकासका योजना ल्याउनेले आफ्नो भोट पाउने बताए । ‘एउटा गतिलो घर बनाउन सके ज्यालादारीमा मागबमोजिम खुँडा, कोदाली, खुकुरी, कुटो, हँसियालगायत औजार बनाउन मिल्थ्यो,’ उनले भने, ‘अहिले हाम्रो हालत पाटीको बास, थाङ्नाको रास भनेजस्तो भएको छ ।’

निर्वाचन क्षेत्र नं २ मा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका ६ देखि ९, ११, १२, १६, १७ र १९ नम्बर पर्छन् । २०४८ देखि २०६४ सम्म चारवटा निर्वाचनमा वाम दल र २०७० मा कांग्रेस विजयी भएको थियो । एमाले उम्मेदवार कृष्णलालले २०५६ र कांग्रेसका चन्द्रले २०७० मा जितेका थिए ।

दुवै उम्मेदवारले आसन्न निर्वाचनलाई लक्षित गरी वडास्तरबाट चुनावी प्रचारप्रसार तीव्र बनाइसकेका छन् । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तृत प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको ललित घुम्ती सडकको उद्गमविन्दु लामाटार हो । दुवै उम्मेदवारले ललित घुम्ती सडकसँगै ग्वार्को–सिद्धिपुर–लुभु–लामाटार–ढुंगिन हुँदै काभ्रेको पनौती जोड्ने सडकको पूर्वाधार विकास गर्ने साझा चुनावी एजेन्डा बनाएका छन् ।

प्रतिनिधिसभाका अन्य उम्मेदवार विवेकशील साझा पार्टीका अमीरराज महर्जन, नयाँ शक्ति पार्टीका रत्न महर्जन, संघीय समाजवादी फोरम, नेपालका शाक्य सुरेन पनि चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका माधव पौडेल, कांग्रेसका पवनविक्रम थापा, विवेकशील साझा पार्टीका प्रवीण महर्जन छन् । ‘ख’ मा वाम गठबन्धनबाट एमालेका ज्ञानेन्द्र शाक्य, कांग्रेसका प्रेमकृष्ण महर्जन, विवेकशील साझा पार्टीका ज्ञानबहादुर शाक्य प्रतिस्पर्धामा छन् ।