काठमाडौँ– पछिल्लो केहि समयदेखि चौतर्फी चासो र चर्चाको विषय बन्दै आएको स्थानीय तहको निर्वाचन मितिको टुङ्गो लागेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेसंगै सो विषयको टुङगो लागेको हो ।


ADVERTISEMENT


आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको जानकारी दिदैँ एक मन्त्रीले निर्वाचन एकैचरणमा सम्पन्न हुने बताए । उनका अनुसार, हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने र त्यसपश्चात् स्थानीय तह जनप्रतिनिधिविहनि हुने भएकाले पनि बैठकले नयाँ मिति प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।

यसै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल समेत गरेका थिए । यसैगरि उनले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

एमसिसी एवम् स्थानीय चुनावको विषयमा छलफल गरिएको उक्त भेटवार्तामा प्रतिपक्षी दल एमालेले स्थानीय चुनाव समयमै हुनुपर्नेमा जोड दिएका थिए ।