काठमाडौँ – चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको हो ।  १९३ रनको विशाल लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । उनले ३३ बलमा ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले २९ बलमा ४ चौका र १ छक्काको मदतमा ३४ तथा लाकेश बम २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाएर आउट भए ।

ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन बनाउँदा शरद भेषावकर १० रनमा नटआउट रहे । युएईका लागि रोहान मस्ताफा र काशिफ दाउदले समान २–२ विकेट लिए । जुनइद सिद्धकीका नाममा १ विकेट रह्यो ।

यसअघि युएईका लागि चिराग सुरीले सर्वाधिक नटआउट ८४ रन हाने । सोक्रममा उनले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै राहान मुस्ताफाले ३५ बलमा ५ चौका र २ छक्काको मदतमा ४९ रन जोडेर आउट भए । मोहम्मद वासिम २२, वासिल हामिद १२ रन बनाएर आउट हुँदा मोहम्मद बूटाले १४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र शाहब आलमले समान १–१ विकेट लिए ।

सन् २०२२ को अक्टोबरमा अष्ट्रेलियमा हुने टी–२० विश्वकपको ग्लोबल छनोट ‘ए’को पूर्वसन्ध्यामा आयोजित टी–२० सिरिजमा आयोजक ओमान सहित नेपाल, आयरल्याण्ड र युएई खेल्दैछन् ।

सिरिजको अन्तिम खेलमा नेपालले सोमबार आयरल्याण्डको सामना गर्नेछ । ग्लोबल क्वालिफायर्स फेब्रुअरी १८ मा हुँदैछ । समूह ‘ए’मा रहेको नेपालले उद्घाटन खेलमा १८ फ्रेब्रुअरीमा घरेलू टोली ओमानको सामना गर्दैछ ।

प्रतियोगितामा सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक ओमानसहित नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन रहेका छन् ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा आगामी अक्टोबरमा हुने टी–विश्वकपका लागि छनोट हुनेछन् ।