काठमाडौँ – ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।


ADVERTISEMENT


सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो । ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


खेलको १३ औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १-१ गोलको स्थितिमा ल्याए । खेलको १८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ५१ औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३-२ को जित दिलाए ।