काठमाडौँ – आगामी अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना अन्त्य भएको छ । ओमानमा जारी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा मंगलबार युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमारेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । १९ वर्षीय ब्याटर वृत्य अरविन्द र मोहम्मद वासिमले विष्फोटक ब्याटिङ गरेपछि युएईले विशाल योगफल तयार पार्यो ।


ADVERTISEMENT

# # #


जवाफी ब्याटिङमा आएको नेपाल १८.४ ओभरमा १०७ रन बनाएर अलआउट भयो । खराब ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै दुई विकेट गुमायो । सुरुवातमै दबाबमा आएपपछि नेपाल कुनैपनि समयमा खेलमा फर्किन सकेन । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । ३८ बलमा उनले ३ चौका प्रहार गरे ।

यस्तै ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । युएईलाई सहज जित दिलाउने क्रममा कप्तान अहमद राजाले ५ विकेट चट्काए । यस्तै जुनैद सिद्धकीले ३ तथा जाहूर खान र रोहान मुस्ताफाले १–१ विकेट लिए ।

यसअघि युएईका लागि वासिफले ४८ बलमा ४ चौका र ३ छक्का ठोक्दै ७० रन बनाएर आउट भए । यस्तै नेपाली बलरको टाउको दुखाई बनेका अरविन्दले २३ बलमा नै ४६ रनको योगदान दिए । कप्तान सन्दीप लामिछानेको बलमा बोल्ड हुनुअघि उनले ५ चौका र ३ छक्का ठोके ।

यस्तै मोहम्मद उस्मान ११ तथा जवार फरिदले ११ रन बनाएर आउट भए । रोहान मुस्ताफा र कप्तान अहमद राजा क्रमशः ९ र ६ रनमा नटआउट रहे ।

नेपालका लागि अविनाश बोहरा र जितेन्द्र मुखियाले समान ३–३ विकेट लिए । त्यसक्रममा अविनाशले ४ ओभरमा उनले ४६ रन खर्चिए भने जितेन्द्रले ३ ओभरमा ३५ रन दिए ।

यस्तै कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे ।