काठमाडौं – भारतको ७४ औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले मिति  फाल्गुण ८ गते एक समारोहको आयोजना गर्यो ।


ADVERTISEMENT


सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) केएम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।


ADVERTISEMENT

# # #


नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता गरे ।

राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परी श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिक सहित दिवंगत भएका जनरल विपिन रावतप्रति श्रद्धञ्जलि अर्पण गरे ।

 प्रधान सेनापति प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवाणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे। उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारी विरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकिकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । सोही अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि सेनापति शर्माले सम्मान गरे ।