काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता  सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बेलुकी भएको भेटवार्तामा दुई नेताहरूबीच संसद्को अवरोध खुलाउने र एमसीसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।


ADVERTISEMENT


छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरूले संसद् अवरोध गरिरहेको हो, पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राखेको उनले जानकारी दिए । एमालेले आफूहरूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै ६ महिनादेखि संसद् अवरोध गर्दै आइरहेको छ ।


ADVERTISEMENT

# # #


लामो समयदेखि अवरोध हुँदै आएको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको सरकारका प्रवक्तासमेत रहेका कार्कीले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरूसँगको छलफल चलिरहने उनको भनाइ छ ।

“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहेका छन्, संसदमा अवरोध हटाउने प्रतिबद्धतामा  एमालेले जनाएको छैन,” उनले भने । मन्त्री कार्कीले शुक्रवार बस्ने संसद्को बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु हुने र सहमतिबाटै निष्कर्षमा पुर्याइने बताए ।