काठमाडौं – पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन् । तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन् । सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका हुन् ।


ADVERTISEMENT

# # #


‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन । एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हौं’, माओवादी केन्द्रका एक उच्च नेताले भने । माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ

सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए । तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए । ‘पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन् । मतदान गर्नु केही मिनेटअघि मात्रै सरकारबाट बाहिरिने निर्णय हुनसक्छ,’ खतिवडाले भने। समाचार नागरिक दैनिकबाट ।