भक्तपुर– जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ । सङ्घीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८/०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र सङ्घीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिकाबारेमा प्रस्तुति गरेका थिए ।


ADVERTISEMENT


कार्यक्रममा जिसस भक्तपुरका प्रमुख नवराज गेलालले नगरपालिकादेखि कार्यालयसमेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने गर्नु गलत भएको बताए । समीक्षामा नगरपालिकाको समस्या, चुनौती, पुँजीगत खर्चको प्रगति कस्तो छ, केही देखिएन भन्दै उहाँले पालिकाले ऐन, नियम नबनाउने तर कार्यविधि धेरै बनाएर पालिका चलाउने गरेको पाइएकाले यो गलत भएको बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा जिससकोतर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले प्रगति विवरण प्रस्तुत गरेका थिए भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपप्रमुख जुना बस्नेतको सहभागितामा प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेलले अर्धवार्षिक प्रगति पेस गरेका थिए ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको तर्फबाट प्रशासकीय प्रमुख हरिप्रसाद चापागाई सूचना अधिकृत सिद्धान्त न्यौपाने, मध्यपुरथिमि नगरपालिकाबाट प्रमुख इञ्जिनीयर सत्यनारायण शाह र भक्तपुर नगरपालिकाबाट प्रशासकीय प्रमुखले आफ्ना नगरपालिकाको छ महिनाको प्रगति विवरण प्रस्तुत गरे ।

अधिकांश नगरपालिकाले विगत छ महिनामा पुँजीगततर्फ २६ प्रतिशतसम्म र चालूतर्फ ४० प्रतिशतसम्म मात्रै प्रगति भएको विवरण पेश गरेका थिए । चुनाव नजिकिँदै गइरहेको अवस्थामा चालू आवको बाँकी समयमा प्रगतिलाई बढाउन चुनौती रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा समीक्षा प्रस्तुत गर्न तय भए पनि ५० प्रतिशत कार्यालयले उपस्थिति नै जनाएनन् । रासस