सुर्खेत– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


चुनावलगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उनको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याए । “वामपन्थीको सरकार बन्नलाई कसैले रोक्न सक्दैन”– उनले भने, “चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ ।”

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताए।

देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उहाँले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिनेमा जोड दिए ।  माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता भएको हो भन्दै चुनावपछि बन्ने स्थिर सरकारबाट नै देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महसुस गर्ने बताए ।

प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाही, क्षेत्र नं २ का प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेललगायतले वाम गठबन्धनलाई जिताउन सबै मतदातासँग आग्रह गरे ।