काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि यही रुपमा भइरहने हो भने यातायात व्यवसायीले गाडी नचलाए पनि हुने बताएका छन् ।


ADVERTISEMENT


सिटौलाले सरकारसँग अरु विकल्प हुँदाहुँदै जनताको ढाड सेकिने गरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यातायात व्यवसायीकातर्फबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सरकारसँग वैज्ञानिक भाडा समायोजन गर्नसमेत माग गरेका छन् । पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धिको विरोध जनाउँदै सिटौलाले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्नसमेत भनेका छन् ।

आयल निगम घाटामा भएकाले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्ने कुरामा असहमति जनाउँदै सिटौलाले भने,’आयल निगम घाटामा हुनुको कारण बोर्डरमा चुहावट भएर हो । जनतालाई कम मूल्यमा बेच्न परेकोले होइन । भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम त छ, तर नेपालमा आइसकेको तेल फेरि गैरकानुनी ढंगले भारत गइरहेको छ यसलाई रोक्नुपर्छ कि पर्दैन ? सरकारले यसमा ध्यान दिएकै छैन या त नबुझेजस्तो गरेको छ ।’

मूल्यवृद्धिको विरोधमा एकछिन टायर बाल्ने र भाडा बढेपछि भाडा बढाउन पाइँदैन  भन्दै गाडी जलाउने विद्यार्थी संगठनको प्रवृत्ति रहेकोसमेत सिटौलाले दुखेसो पोखे । पेट्रोलियम पदार्थको मूल्य बढाइनुको कारणहरु विद्यार्थी संगठनहरुले बुझ्न नचाहेकोमा सिटौलाले दुखेसो पोख्दै भने,’नेताको नाममा चुहावट, प्रशासनिक चुहावट,  कार्यकर्ताको नाममा चुहावट र गैरकानुनी तवरले भारतबाटै ल्याएको तेल भारतमा नै बेच्न लैजाने काम भइरहेकोप्रति विद्यार्थी संगठनहरुले बोल्न जरुरी छ । ‘ विद्यार्थी र उपभोक्तावादीहरुले कर्मकाण्डीरुपमा आन्दोलन गरेकोसमेत सिटौलाको गुनासो छ । बोर्डरमा ठूलो मात्रामा तेलको चुहावटका विषयमा बोल्न उपभोक्तावादी र विद्यार्थी संगठनहरुलाई सिटौलाले सुझाव दिए ।

उनले समायोजनकाे नाममा वा घाटाको नामामा गरिएको मूल्यवृद्धि सवारी धनीले थेग्न नसकिने कारण वैज्ञानिक भाडा समायोजन हुनुपर्ने बताए ।

सिटौलाले विभिन्न बाहनामा राज्यले पेट्रोलियम पदार्थको  मूल्यवृद्धि गरिरहने विकल्पकाबारे सोच्दै नसोच्ने हो र सबैचीजको जिम्मेवारी जनता आफैंले लिने हो भने सरकार केका  लागि भन्ने प्रश्न उठेको बताए ।

यस अघि नै  पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन गर्ने चेतावनी दिँदै आएको महासंघले पेट्रोलियम पदार्थको  मूल्यवृद्धिसँगै सामाञ्जस्य हुनेगरी भाडा समायोजनको माग गरेको हो ।

यदि सरकारले आफूहरुको माग नसुनेको खण्डमा मूल्यवृद्धि अनुसारको भाडा बढाएर भाडा समायोजन गर्ने तयारीमा समेत महासंघ रहेको सिटौलाले जानकारी दिए ।