काठमाडौँ – नेपालमै पहिलो ह्यग्रिव मन्दिर निर्माणका लागि सहयोग जुटाउन लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको छ ।


ADVERTISEMENT


वाग्मती, कोलमती र चोलमती नदीको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी, थलीस्थित कोलमतेश्वर महादेव मन्दिरमा पहिलोपटक लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको हो । पहिलो ह्यग्रिव मन्दिर पनि यही स्थलमा बनाइने यज्ञ सम्पादन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


विवाह पञ्चमीका अवसरमा बिहीबारदेखि शुरु भएको महायज्ञ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । २०७२ वैशाख ८ गतेदेखि मन्दिर निर्माणका लागि सहयोग जुटाउन महायज्ञ शुरु गरिएकामा वैशाख १२ गतेको भूकम्पले अवरुद्ध भएकाले यसपटक पुनः शुरु गरिएको समिति अध्यक्ष जयराम सिम्खडाले बताए ।

महायज्ञको संकल्प रुरुक्षेत्र पीठाधीश स्वामी श्री जगदीश प्रपन्नाचार्यले गरेका हुन् । ह्यग्रिव भन्नाले घोडाको घाँटी भन्ने बुझिन्छ । १८ पुराणमध्येको श्रीमदभागवत्मा वर्णन गरिएअनुसार भगवान् विष्णुका २४ अवतारमध्ये ह्यग्रिव अवतार पनि एक हो ।

ह्यग्रिव अवतारका भगवान्को कृपाले सद्बुद्धि, विद्या, स्मरण शक्ति, निर्णय शक्ति प्राप्त हुने भएकाले महायज्ञ आयोजना गरिएको संकल्पकर्ता जगदीश प्रपन्नाचार्यले बताए ।

महायज्ञको शुरु गर्दै प्राडा ऋषिराम पोखरेलले हिमवत्खण्डमा उल्लेख भएअनुसार वाग्मतीको शिरो भागमा धेरै तीर्थस्थल रहेकाले तिनको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन हुने बताए । महायज्ञमा यशोदादेवीले कथा वाचन गर्ने आयोजक समितिले जनाएको छ ।

महायज्ञमा राष्ट्र शान्ति, भूकम्प, बाढी पहिरोलगायत घटनामा परी पीडित भएका आत्माको शान्तिको समेत कामना गरिने जनाइएको छ ।