विराटनगर – मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनकका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।


ADVERTISEMENT


यातायात, खानेपानी, विद्युत् र नदी कटान र सुकुम्बासी यस क्षेत्रका मुख्य समस्या हुन् । प्राकृतिक सम्पदाले चाहिँ यो क्षेत्र मोरङको अन्य क्षेत्रभन्दा धनी रहेको छ । यस क्षेत्रको अधिकांश भाग वन जंगल, हरिया डाँडाले भरिएको छ । अहिले पनि यस क्षेत्रको कतिपय स्थानमा विद्युत् तथा बाटोघाटोको असुविधा रहेको छ ।


ADVERTISEMENT

# # #


यस क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा घनश्याम खतिवडाले प्रतिस्पर्धा गरिरहेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बूले उम्मेदवारी दिएका छन् । यस क्षेत्रका मतदाताको चाहना नै विद्युत्, नदी कटान नियन्त्रण, बाटोको निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य रहेको छ । नेपाली काँग्रेसका लिम्बूले घरदैलो अभियानमा आगामी पाँच वर्षभित्र यस क्षेत्रको बेरोजगारी र नदी कटानको समस्या समाधान गरिदिने आश्वासन मतदातालाई दिएका छन् ।

यस्तै, वाम गठबन्धनका खतिवडाले कोणसभा र घरदैलो अभियान सञ्चालन गर्दै बक्राहा नदीको दोहन गर्ने कार्य रोक्ने, तमोर नदीको पानी सुरुङमार्फत बक्राहा नदीमा खसाई जलविद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने, कृषकलाई आधुनिक कृषि गर्न प्रोत्साहन गर्ने, सुनसरीदेखि झापाको बाहुनडाँगीसम्म भित्री पक्की सडक निर्माण गर्ने वचनबद्धता प्रकट गरिरहेका छन् ।

दुवै दलका नेताले यस क्षेत्रमा रहेको सामुदायिक वनमा जडीबुडी खेतीमा प्रोत्साहन गर्ने, चिया, अलैँची खेतीका लागि सुविधा उपलब्ध गराउने, स्थानीय वनजंगलमा जंगली जनावरको संरक्षण गरी पर्यटक आकर्षण गर्ने, यस क्षेत्रमा रहेको जेफाले पर्यटकीयस्थलसम्म पुग्ने कालोपत्र सडक र विद्युत्को लाइनको निर्माण गर्ने वाचा गरेका छन् ।

युवालाई रोजगारी, पक्की मोटरबाटो, विद्युत् तथा सिँचाइ सुविधा उपलब्ध गराउने वाचा मतदातासमक्ष गरेका छन् । आगामी मंसिर २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट वाम तथा लोकतान्त्रिक गठबन्धनबाट को विजयी हुन्छ भन्ने अहिले नै आकलन गर्न सक्ने स्थिति छैन ।

मिक्लाजुङ गाविस–३ का रामप्रसाद अधिकारीले कालोपत्र सडक निर्माण वचनबद्धता व्यक्त गर्ने उम्मेदवारलाई आफूले मतदान गर्ने बताए । यस्तै लेटाङ नगरपालिका–२ शेरबहादुर लिम्बूले हाम्रो होइन राम्रो उम्मेदवारले विकास निर्माणको कार्य गर्ने भएकाले त्यस्ता उम्मेदवारलाई मतदान गर्ने धारणा व्यक्त गरे ।

यस क्षेत्रबाट नेपाली काँग्रेसले डिगबहादुर लिम्बू, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिवराज लिम्बू, नयाँ शक्ति पार्टी नेपालबाट हरिप्रसाद न्यौपाने, नेकपा (एमाले)बाट घनश्याम खतिवडा प्रतिनिसभामा उम्मेदवार रहेका छन् ।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजुकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ र स्वतन्त्रबाट क्रमशः यामप्रसाद दाहाल र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै, प्रदेश सदस्यमा क्षेत्र नं १ बाट एक महिलासहित ११ जना र २ बाट एक महिलासहित १० उम्मेदवारले प्रधिस्पर्धा गरिरहेका छन् ।

यस निर्वाचन क्षेत्रमा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी नगरपालिका रहेका छन् । यहाँ महिला मतदाता ५५ हजार ४९७ सहित कूल एक लाख सात हजार २३४ मतदाता रहेका छन् ।