कञ्चनपुर –  कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटा वादी बस्तीका ६२ वर्षीय दत्तराम कुमाल झुटो आश्वासन दिई काम नगर्ने उम्मेदवारलाई यसपटकको निर्वाचनमा मतदान नगर्ने सोचमा छन् ।


ADVERTISEMENT


बैतडी पुख्र्यौली घर भएका कुमाल २०४९ सालमा जीविकोपार्जनका लागि तराई झरेपछि भएका सबैजसो निर्वाचनमा मतदान गर्दै आएका छन्। “वस्तीका सामूहिक समस्या समाधान होला भनेर सबैजना एकमत भई मतदान गर्दै आएका छौँ,” उनले भने, “आश्वासनबाहेक केही पनि पाउन सकेका छैनौँ ।”


ADVERTISEMENT

# # #


संविधानसभाको दोस्रो निर्वाचनमा वादी बस्तीमा बस्दै आएका बासिन्दाले जग्गाको लालपूर्जा पाउँछ, नदी नियन्त्रणको योजना ल्याएर बस्तीको मुहार नै फेरिदिन्छौं भन्ने आश्वासन दिएपछि मतदान गर्न गएका स्मरण गर्दै उनले भने, “उम्मेदवारलाई वस्तीमा आउँदा फूलमालाले स्वागत गर्यौँ । चुनाव जितेपछि मन्त्रीसमेत बने । त्यसपछि आश्वासन पूरा गर्नु त परको कुरा भोट दिएका बस्तीका बासिन्दालाई भेट्नसमेत आएनन् ।”

“नदीले बस्दै आएको जग्गा बगाएर १३ परिवारलाई विस्थापन गरेको सुनाउँदै विकल कुमालले भने – “चुनावका बेला दिएका आश्वासन पूरा गरिदिन गुहार लगायौँ । नदी नियन्त्रणका लागि गुरुयोजनामा पारिदिने भन्ने खबर आयो । न त गुरुयोजना नै आयो, न त नदी नियन्त्रण नै भयो ।”

सडक छेउ बस्दै आएका विस्थापनमा परेका परिवार मागेर गुजारा चलाउँदै आएका छन् । वादी बस्तीका बासिन्दाले बस्दै आएका जग्गाको लालपूर्जा, बेरोजगार युवालाई रोजगारी, उच्च शिक्षासम्म निःशुल्क शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य सेवा, विस्थापित परिवारको पुनःस्थापना, आवास निर्माणलगायतका माग अघि सारेका छन् ।

अल्पसंख्यकका रुपमा रहेका वादी समुदायको पहुँच वडा तहदेखि राज्य र केन्द्र बनाइदिन प्रतिबद्ध उम्मेदवारलाई मतदान गर्ने सोच वादी समुदायका अगुवाले अघि सारेका छन् ।

नरेश रानाले भने, “सवारी साधन चलाउने सीप सिकेको छु, यहाँ काम नपाउँदा भारतमा काम गर्नु परेको छ, स्वदेशमै सरकारी जागिर दिनेलाई मात्रै भोट दिने विचारमा छु ।” उनले भने, “भारतमा १० वर्षदेखि गाडी चलाउँदै आएको छु । यहाँ लाइसेन्स बनाउन जाँदा रु २५ हजार माग्छन् । निःशुल्क लाइसेन्स पाउने व्यवस्थासँगै रोजगारी दिलाउने उम्मेदवार नै मेरो रोजाइ हुनेछ ।” परम्परागत सीपले परिवारको खर्च धान्न मुस्किल हुन थालेपछि यहाँका धेरै बासिन्दा अन्य सीप र कमाउने साधन नहुँदा भारतमा मजदुरी गर्न जान बाध्य छन् ।

बस्तीका अधिकांश युवा छ महिना भारतमा मजदुरी गरेको पैसाले परिवारको खर्च चलाउने गरेका छन् ।

परम्परागत सीपका रुपमा रहेको सुल्पा, चिलिम बनाउने र सारङ्गी रेटेर घर घरमा पुगी मनोरञ्जन दिने कार्य पुराना भइसकेका छन् । वादी अगुवा बेलुदेवी नेपालीले भने, “वादी समुदायले परम्परागत सीपको प्रयोग गरी बनाउँदै आएको वाद्य सामग्रीका रुपमा रहेको मादल, तबला, ढोलक, थारु समुदायका महिलाका लागि बनाइने चाँदीका गहना टडिया र माटाका सुल्पा, चिलिम जस्ता वस्तुले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा पुख्र्यौली पेशा ओझेलमा परेका छन् ।”

अझै पनि घुमन्ते युगमै रहेका वादी समुदायलाई मुक्त हलिया, मुक्त कमैया जस्तै गरी पुनःस्थापना गर्न कार्य अगाडि बढाइनु पर्ने रामबहादुर वादीले बताए ।

“नयाँ युवाले विगतकै शैलीमा चुनावका बेला गुलिया नारा अघि सारेर मत माग्नेहरुलाई मत नदिने भएका छन्,” दुरा कुमालले भने – “युवाले वादी समुदायको उत्थान गर्न प्रतिबद्ध र समस्यालाई नजिकबाट बुझेका उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छन् ।”

उनले भने, “सिलाइकटाइ, बाख्रापालन, बंगुरपालन र प्रत्येक सरकारी निकायमा वादी महिलाको अधिकारको ग्यारेन्टी गर्नेलाई हाम्रो मत जान्छ ।” वादी समुदायको उत्थानका लागि गठन गरिने समितिमा वादी समुदायका व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग पुरानै भए पनि अझैसम्म पूरा हुन सकेको छैन ।

“सरकारी सेवा सुविधा लिन जाँदा अचाक्ली शुल्क लिने गरेकाले धेरै परिवार सेवा सुविधाबाट समेत वञ्चित भएका छन्, सबै सेवा निःशुल्कको माग गर्दै आए पनि पूरा नहुँदा बालबालिकालाई यहाँ पढाउन नसक्दा भारतमा मजदुरीका लागि जाँदा सँगै लग्नु परेको छ,” कित्थे वादीले भने – “सरकारी दस्तुर महँगो भएकै कारण धेरैजनासँंग नागरिकतासमेत छैन, यिनै कुराको ग्यारेण्टी गर्न उम्मेदवारसँग माग गर्दै आएका छौँ, सबैले आश्वासन दिएका छन् ।”

आश्वासनमा खरो उत्रने उम्मेदवारको पहिचान गरी मतदान दिने सोच बस्तीका सबैको रहेको उनले बताए ।

उनले भने – “वादी समुदायलाई समेट्ने गरी जनता आवास कार्यक्रम शुरु भएको भन्छन् तर वादी समुदायका जिल्लाभरिमा १३ घरमात्रै परेका छन्, घर निर्माण कार्यको थालनी गरिए पनि पूरा बजेट नदिँदा पूरा गर्न सकिएका छैनन् ।”

वादीका लागि अलग्गै कार्यक्रम ल्याउनेलाई मात्रै वादी समुदायले मतदान गर्ने उनको भनाइ छ । गुन्याँलफाँटामा मात्रै वादी समुदायका ६४ परिवार बस्दै आएका छन् । अधिकांश परिवारका माटाका कच्ची घर छन् ।

केही परिवारसँग ओत लाग्नका लागि छानो भए पनि धेरैसँग घरको ढोकासमेत छैन । एक कोठाको ढोका नभएको छाप्रोमा चारजनाको परिवारसहित बस्दै आएका प्रकाश वादीले भारतको कालापहाडमा काम गर्न नजानका लागि रोजगारी दिने उम्मेदवारलाई मतदान गर्न जाने बताउँछन् ।

नदी, खोला किनार र जंगल छेउछाउमा बस्दै आएका वादी समुदायसँग कच्ची छाप्रो मात्रै सम्पत्तिका रुपमा रहेको छ । वर्षात्का बेला पानी पर्दा छाप्रो चुहिन्छ र अनिदोमै रात बिताउनु पर्ने हुन्छ ।

वादी समुदायको कञ्चनपुरका भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, महाकाली नगरपालिका, पुनर्वास नगरपालिका, कृष्णपुर नगरपालिकामा गरी करिब एक हजार घरधुरी रहेको छ । यसमध्ये पाँच हजारको मतदाता नामावलीमा नाम दर्ता रहेको अनुमान छ । राजेन्द्रप्रसाद पनेरु/रासस