दुहवी – लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका सुनसरी दुहवीका नेताहरुलाई  नेकपा एमालेकी नेतृ भगवती चौधरीले  एमालेमा प्रवेश गराएकी छन् । चौधरीले  कांग्रेसबाट राजनीति गर्दै वडाध्यक्ष समेत भइसकेका दुहवीका पुराना कांग्रेसी नेता तेजनारायण रौनियार सहित दुहवीका प्रमुख व्यक्तिहरु एमालेमा प्रवेश गराएकी हुन् ।


ADVERTISEMENT


एमालेमा प्रवेश गरेका रौनियार खानेपानी कार्यालय दुहवीका अध्यक्ष समेत हुन् । उनी २०४९ सालमा साविक दुहवी गाविस वडा नं ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष समेत भएका थिए ।


ADVERTISEMENT

# # #


नेकपा एमालेले मोरङको रंगेलीमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्न विराटनगर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट नेतृ चौधरीले उनीहरुलाई पार्टी प्रवेश गराइन् । यस्तै कांग्रेस क्षेत्रीय कमिटी तथा दुहवी खानेपानी कार्यालयका सचिव बद्रीनारायण विस्वास, कांग्रेस नगर कमिटी वडा नं ३ का अन्तराम माझी, चुनरलाल चौधरी, देवकी विस्वास लगायत विराटनगर विमानस्थलमै पुगेर पार्टी अध्यक्ष ओलीको हातबाट अविर टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउन चौधरीले अहम् भूमिका निभाइन् ।

एमाले केन्द्रीय सदस्य भगवती चौधरीको नेतृत्वमा विराटनगर विमानस्थल पुगेका उनीहरुले समृद्ध मुलुक र सुखी नेपालीको सपना साकार पार्ने कार्यनिती नेकपा एमालेसँग मात्र रहेको र त्यसको नेतृत्व नेतृ भगवतीले गर्न सक्ने भन्दै कांग्रेस लगायत अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए ।

लामो समय कांग्रेसको राजनीति गरे पनि कांग्रेसले आफुहरुको लागि कुनै काम नगरेको बताउँदै समाजवाद नेकपा एमालेसँग मात्र रहेकोले आफुहरु एमालेमा समाहित भएको बताए । सो क्रममा पार्टी अध्यक्ष ओलीले जनताले अबको निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई बहुमत दिएर पुनः सरकारमा पठाउने बताउँदै देश विकास, स्वाधिनता, राष्ट्रियताका एजेण्डा आफुहरुसँग मात्र रहेको बताए ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरी क्षेत्र नं ३ मा नेकपा एमाले प्रवेश गर्ने जनलहर छाएको छ । एमाले नेतृ  चौधरी पछिल्लो समय  आफ्ना नेता कार्यकर्ताहरुसँगै गाउँगाउँ जाँदा सिंगो क्षेत्र एमालेमय भएको छ । नेतृ  चौधरीको नेतृत्वमा जिल्लाको क्षेत्र नं ३ मा एमालेको संगठन तन्दुरुस्त भएको स्थानीयहरुले बताए ।

नेतृ  चौधरीले सबैको साथ र सहयोगको कारणले यसो हुन सम्भव भएको बताइन् । कामको जस अरुलाई दिने स्वभाव भएकी नेतृ चौधरीले सबैलाई जस दिँदै भनिन्,’मेरो एकल प्रयासले यस्तो भएको होइन । सबै तहका नेताहरु, स्थानीय तहका नेतृत्व, पार्टीलाई विश्वास गर्ने जनताहरु, युवावर्गको यसो हुनुमा सहयोग रहेको छ । उहाँहरु सबैले आआफ्नो स्थानबाट पार्टीलाई सघाउन, यसलाई मलजल गर्न, ठूलो भूमिका खेल्नुभएको छ । तसर्थ पार्टीमा प्रवेश गर्ने सबै कमरेडहरु, र जसले जहाँबाट सहयोग गर्नुभयो उहाँहरुलाई म धन्यवाद दिन चाहान्छु ।  ‘