काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसका नेताहरूलाई बिचार गरेर बोल्न चेतावनी दिएका छन् । ​आफूहरूकै कारण सत्तामा पुगेको उल्लेख गर्दै उनले कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै आक्रोश पोखेका हुन् ।


ADVERTISEMENT


पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न पनि सचेत गराए ।


ADVERTISEMENT

# # #


‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्‍याएका हौं । आज केही कांग्रेस नेतामा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन् । हामी सरकार बनाउन सक्छौं, भत्काउन पनि सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । यो कांग्रेस नेताहरूले बुझ्न जरुरी छ ।’

पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट कांग्रेसले पाठ सिक्नु पनि आग्रह गरे । ‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ ।’

पुनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी पनि गरे ।