काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला राखेका छन् । आफ्नै निवास बोहराटारमा आज बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाएका हुन्।


ADVERTISEMENT


कांग्रेसको १४ औं महाधिवेशनका बेला ६१ जिल्ला अधिवेशनसम्म पौडेल पक्ष र सभापति शेरबहादुर देउवा पक्षबीच विभिन्न जिल्लामा प्रतिस्पर्धा भएको थियो।


ADVERTISEMENT

# # #


पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकअघि जिल्ला सभापति भेला राखेका हुन्। आज दिउँसो २ बजे सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।

‘जिल्ला सभापतिहरू र नेताहरूसँग उहाँले कुराकानी गर्न लाग्नुभएको हो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने।

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाएका हुन्। गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बसेका थिए। उनी उम्मेदवार पनि भएनन् भने भोट हाल्न पनि गएनन्।

पौडेलले जिल्ला सभापति भेला राखेर आफ्नो गुट कायमै रहेको सन्देश दिन खोजेका छन्। यसअघि उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका बेला आफूनिकट दुई नेतालाई उम्मेदवार बनाएका थिए।

कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा देउवाले जितेका थिए। सभापति देउवाले निर्णय प्रक्रियामा शेखर पक्षसँग परामर्श गर्ने गरेका छैनन्।