नवलपरासी– जननायक बिपी पुत्र एवं नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।


ADVERTISEMENT


नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार छन् । कोइरालासँग मुख्य प्रतिस्पर्धामा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भविश्वर पराजुली रहेका छन् ।


ADVERTISEMENT

# # #


पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा नवलपरासीबाट संविधानसभामा प्रतिनिधित्व गरेका नेपाली काँग्रेसका महामन्त्री डा कोइराला यसपटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

नेपालमै नेपाली काँग्रेसका लागि निकै सुरक्षित क्षेत्रमध्ये उत्कृष्ट निर्वाचन क्षेत्रका रुपमा रहेको यस क्षेत्रबाट कोइराला २०६४ सालदेखि निरन्तर सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् ।

लगातार दुईपटक सो क्षेत्रबाट निर्वाचित भएका कोइराला तेस्रो पटक पनि विजयी हुँदै ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । कोइरालाको ह्याट्रिक गर्ने यो चुनावी दौडाहालाई वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पराजुलीले रोक्ने निकै कठिन चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिएको छ ।

काँग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको काँग्रेसको दाबी छ । तर देशव्यापीरुपमा वाम गठबन्धनका पक्षमा आएको जनलहरका कारण यसपटक पराजुली विजयी हुने दाबी वाम घटकको तर्क छ ।

राज्य पुनःसंरचनाअनुसार नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ नेपाली काँग्रेसले २०४८ सालदेखि नै जित्दै आएको क्षेत्र हो ।

संविधानसभाको पहिलो निर्वाचन विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागार्इं रहेका थिए । एमाले तेस्रो स्थानमा रहेको थियो । चापागाईंले १४ हजारको हाराहारीमा मत ल्याउँदा एमालेका उम्मेदवार देवकला बरालले करिब आठ हजार मत प्राप्त गरेका थिए ।

विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार २२८ मत ल्याएर पुनः दोस्रोपटक विजयी बने । कोइराला विजयी बन्दा नेकपा एमालेका उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार ११०, माओवादीका उम्मेदवार धनप्रसाद सापकोटाले चार हजार ३१७ मत प्राप्त गरेका थिए। जसअनुसार २०७० को मतलाई हेर्दा काँग्रेसले पाएको मत एमाले र माओवादीका उम्मेदवारले पाएको मतलाई जोड्दा एक हजार ८८१ को अन्तर हुन आउँछ ।

पछिल्लो स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने वाम गठबन्धन र काँग्रेसबीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

काँग्रेसको गढका रुपमा रहेको गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएको भए पनि उपप्रमुख सहित १८ वटा वडामध्ये १० वटा वडा काँग्रेसले जितेकाले पनि यसपटक काँग्रेसको गढ भत्कने वाम गठबन्धनलाई चुनौती नै देखिन्छ । यस क्षेत्रमा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु एक अर्काप्रति लक्षित गरी चुनावी अभियानलाई तीव्र पारेका छन् ।

चुनावी अभियानका क्रममा काँग्रेस महामन्त्री कोइराला पूर्व–पश्चिम राजमार्ग हुँदै जाने नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने नारायणी नदीलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाइने, अन्तर्राष्ट्रियस्तरको रंगशाला नवलपुरमा निर्माण गरिने, नवलपुर क्षेत्रमा ट्रमा सेन्टर बनाइनेलगायत योजना अघि सारेर चुनावी मैदानमा छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पराजुलीले समृद्धि नवलपुर र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने मुख्य एजेण्डा अघि सारेर चुनावी मैदानमा छन् ।

अर्को रोचक प्रसंग कोइरालालाई जसरी पनि चुनाव जिताउने अभियानमा यसअघि एमालेबाट समानुपातिक सांसद बनेका उद्योगपति विनोद चौधरी अझ बढी क्रियाशील देखिएका छन् । अहिले नेपाली काँग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार बनेका चौधरीले आफ्नो नवलपरासीमा अन्तर्राष्ट्रियस्तरको चौधरी उद्योग ग्राम (सिजी) स्थापना गरेकै कारण मतदातालाई प्रभाव पार्ने सक्ने रणनीतिले अहिले कोइरालालाई सघाइरहेको अवस्था छ ।

चौधरीको दुम्कौलीमा मतदाता नामावली रहेको छ । उद्योगपति चौधरीको दुम्कौलीमा देशकै ठूलो उद्योग चौधरी उद्योग ग्राम सञ्चालमा रहेको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वको क्षेत्र नं १ को गैँडाकोट नगरपालिका, बुलिङ्टार गाउँपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकाको १, २ र ५ देखि १३ सम्मका वडा समावेश गरिएको छ ।

विसं २०६४ र २०७० भन्दा अहिले यो निर्वाचन क्षेत्रमा केही नयाँ स्थान समेटिएका छन् । यस्तै यस क्षेत्रमा अहिले स्थानीय तहको निर्वाचनपछि १७ हजार नयाँ मतदाता थपिएका छन् । यस क्षेत्रमा कूल एक लाख १३ हजार ९४७ मतदाता रहेका छन् ।

नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं २ मा स्थानीय मतदाताको ध्यान केन्द्रित

चारवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीका दुवै जिल्लामध्ये वाम गठबन्धनले सबैभन्दा बढी बलियो क्षेत्र आधार मानेको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ थप रोचक बनेको छ ।

नवलपरासीमा हाल प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र कायम छन् । प्रतिनिधिसभातर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रतर्फ दुई र नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रतर्फ दुईवटा निर्वाचन क्षेत्र छन् ।

कम्युनिस्टहरुले आफ्नो लाल किल्ला बताउने यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले संयुक्त वाम गठबन्धनबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तिलक महत र नेपाली काँग्रेसबाट काँग्रेस महासमिति सदस्य विष्णु कार्की चुनावी मैदानमा छन् । लामो समयदेखि जिल्लामा राजनीतिमा सक्रिय महत र व्यवसायी पृष्ठभूमिका कार्कीबीचको यसपटकको चुनावले नवलपुर क्षेत्रका स्थानीय मतदाताको ध्यान केन्द्रित गरेको छ ।

महत अहिले एमाले वैकल्पिक केन्द्रीय सदस्य हुन् । व्यवसायी पृष्ठभूमिका कार्की विगत केही वर्षदेखि जिल्लाको राजनीतिमा सक्रिय हुँदै अहिले काँग्रेस महासमिति सदस्य हुन् ।

यसपटक वाम गठबन्धनको केही मत बढी रहेकाले चुनाव जित्ने आशमा महत देखिन्छन् भने पार्टीका कार्यकर्ताबाहेक आम मतदाता जो पार्टीभन्दा व्यक्तिलाई हेरेर मतदान गर्ने पक्षमा छन् ती मतदातालाई आफ्नो पक्षमा पारेर चुनाव जित्ने दाउमा कार्की देखिन्छन् ।

वर्तमान नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बहुदल प्राप्तिपछि २०४८ सालमा भएको संसदीय चुनावमा लुम्बिनी अञ्चलबाट नेकपा (एमाले) एउटामात्र निर्वाचन क्षेत्रमा विजयी भयो । लुम्बिनी अञ्चलका अन्य सबै निर्वाचन क्षेत्रमा एमाले पराजित हुँदा तत्कालीन नवलपरासी क्षेत्र नं २ बाट एमालेका उम्मेदवार मझीलाल थारु थनेत विजयी बनेका थिए।

विसं २०४८ मा थनेतले नेपाली काँग्रेसका उम्मेदवार तिलक सापकोटालाई पराजित गरे । विसं २०६४ मा माओवादीले चुनाव जितेको यो क्षेत्रमा पुनः २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्ण पौडेल चुनावमा विजयी भए ।

अझ यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको संयुक्त वाम गठबन्धन बनेपछि यो क्षेत्रमा सजिलै जित हासिल गर्नेमा गठबन्धन ढुक्कजस्तो देखिन्छन् । तर यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट नयाँ अनुहारका उम्मेदवारहरु दिएपछि बाजी मार्न सकिने दाउमा काँग्रेस पनि छ ।

वाम गठबन्धनका उम्मेदवार महतसँगै गठबन्धनबाट प्रदेश सभा ‘ख’ मा एमालेका जनकलाल श्रेष्ठ र प्रदेश सभा ‘क’ बाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य किसन शर्मा गैरे उम्मेदवार छन् । काँग्रेसबाट कार्कीसँगै प्रदेश सभा ‘ख’ बाट गणेशमान श्रेष्ठ र प्रदेश ‘क’ मा काँग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछाने उम्मेदवार छन् ।

यस क्षेत्रको कृषि, पर्यटन, सडक, शिक्षाको विकास आफ्नो प्रमुख एजेण्डा भएको उम्मेदवार महतको भनाइ छ । यस क्षेत्रको चौतर्फी विकाससहित बेरोजगारी समस्या, शिक्षा, स्वास्थ्य आफ्नो मुख्य एजेण्डा रहेको कार्कीको भनाइ छ ।

यो निर्वाचन क्षेत्रमा मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, कावासोती नगरपालिकाको ३, ४ र १४ देखि १७ नं सम्मका वडा रहेका छन् । यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रका कावासोती नगरपालिकामा बाहेक अरु सबै स्थानीय तहमा नेपाली काँग्रेस विजयी भएको थियो । स्थानीय तहमा प्राप्त मतको आधारमा भने वाम गठबन्धन काँग्रेसभन्दा दुई हजार ११४ मतले अघि रहेको छ । अहिले स्थानीय तह निर्वाचनमा भन्दा बढी मत आउने अपेक्षा वाम गठबन्धनको छ ।

अघिल्लो संविधानसभा निर्वाचनमा छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी जिल्ला दुई जिल्ला विभाजन भएपछि अहिले दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअघिको २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नवलपुर र परासी क्षेत्रमा दुई–दुईवटा निर्वाचन क्षेत्र रहेका थिए ।

नवलपरासी क्षेत्र नं २ बाट २०४८ र २०५१ सालमा एमालेबाट मझीलाल थारु थनेत विजयी भएका थिए । थनेतले २०५१ सालमा २१ हजार ३८८ मत प्राप्त गर्दा काँग्रेसका उम्मेदवार सूर्यभक्त अधिकारीले १८ हजार ४७१ मत प्राप्त गरेका थिए ।

विसं २०५६ को एमाले पार्टी विभाजन हुँदासमेत यो क्षेत्रबाट एमाले विजयी भएको थियो । एमालेका चन्द्रमणि खरालले २३ हजार १२५ मत ल्याएर विजयी हुँदा काँग्रेसका महेन्द्रध्वज जिसीले २२ हजार ७०१ मत प्राप्त गरेका थिए ।

संविधानसभा निर्वाचनमा छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हालको क्षेत्र नं २ का अधिकांश क्षेत्र निर्वाचन क्षेत्र नं ३ मा रहेको थियो । सो निर्वाचनमा माओवादीकी सीतादेवी बौडेलले १३ हजार ५३५ मत ल्याउँदा एमालेका कृष्णप्रसाद पौडेलले ११ हजार ६६२ मत प्राप्त गरेका थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद पौडेल १४ हजार ८०४ मत ल्याएर विजयी हुँदा काँग्रेसका कृष्णचन्द्र नेपालीले १४ हजार ४७९ मत प्राप्त गरेका थिए । विस २०६४ र २०७० भन्दा अहिले यो निर्वाचन क्षेत्रमा केही नयाँ स्थानहरु फरक फरक स्थानहरु यस क्षेत्रमा समावेश गरिएका छन् । यस क्षेत्रमा कूल एक लाख सात हजार ७६९ मतदाता रहेका छन् ।

काँग्रेस पहिलो दल बनेर सरकारको नेतृत्व लिने महामन्त्री शशांक कोइरालाको दाबी

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा आज आयोजना गरेको साक्षात्कारमा महामन्त्री कोइरालाले यसपटकको चुनावमा काँग्रेस पहिलो दल बन्ने दाबी गरे । उनले यसपटकको चुनावमा काँग्रेस एकताबद्ध भएर लागेकाले काँग्रेसको पक्षमा जनलहर आएको दाबी गर्दै कोइरालाले काँग्रेस ठूलो दल बन्ने बताए ।

चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा आफूमध्ये जसले पनि गर्न सक्ने बताए । नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत बन्नुभएका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिबद्ध भएको बताए ।

जिल्लामा भएका सिँचाइ, तटबन्ध निर्माण, बाटोघाटो, अस्पतालजस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिबद्ध रहेको कोइरालाको भनाइ छ । उनले जिल्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धतासमेत जनाए ।