काठमाडौँ – काठमाडौँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आयोजक नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको ११५ रनको चुनौती पच्छ्याउँदै मैदान उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै ११७ रन जोड्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएर आउट भए । त्यसक्रममा उनले ३८ बलमा ७ चौका र १ छक्काको मदतमा सर्वाधिक ५७ रन जोडे । यस्तै दीपेन्द्र सिंह ऐरीले १७ बलमा १ चौका र १ छक्कासहित २१ रन जोडे भने रोहित पौडेलले १० बलमा २ चौकासहित १२ रन जोड्दा दिलिप नाथले ७ बलमा नटआउट १५ रन बनाए ।

मलेसियाका लागि पवनदीप सिंहले २ विकेट लिए भने शेयद अजिज र मुहम्मद अजिजले समान १–१ विकेट हात पारे ।

यसअघि मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो । मलेसियाका लागि जुल्वाइदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । कुशल मल्लबाट बोल्ड आउट हुनुअघि उनले १५ बलमा नै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फाइजले २४ तथा मुहम्मद अमिरले १६ र सेद अजिजले १४ रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करणले केसीले समान २–२ तथा कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १–१ विकेट हात पारे ।

यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८ रनले हराएको थियो भने हिजो मलेसियाले पनि पप्वा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।

सिरिजमा आयोजक नेपाल, पपुवा न्यूगिनी र मलेसियाले एक आपसमा २–२ खेल खेल्नेछन् । नेपालले भोलि पपुवा न्यूगिनीसँग खेल्दैछ ।