काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरी आज नयाँ दिल्लीस्थित प्रस्थान गर्न लागेका हुन् ।


ADVERTISEMENT


यसअघि भारतका लागि नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण ४ वर्ष पहिले गएको थियो । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यतिबेला भारत भ्रमणका गएका थिए ।


ADVERTISEMENT

# # #


नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध रहेको र त्यसैमाथि यो भ्रमण उच्चस्तरको भएकाले पनि नेपालका लागि यस भ्रमणले विशेष महत्व राख्ने अधिकारीहरु बताउँछन् । जसमा नेपाल–भारतबीचका समस्या समाधान खोज्न उचित अवसर समेत हुने पूर्वराजदूत नीलाम्बर आचार्यको भनाई छ । यसै मौकामा प्रधानमन्त्रीले भारतसँग विकास समृद्धिका लागि थप लगानी बढाउनुपर्नेमा जोड दिनुपर्ने उनले बताए ।

यस्तै, पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाको यस भ्रमण महत्वपूर्ण रहने भन्दै पूर्वराजदूत डा. दिनेश भट्टराईले भन्छन्, ‘नेपाल–भारत सम्बन्ध लामो छ। व्यापक छ। गहिरो छ। विशाल बहुआयामिक छ र आफ्नै किसिमको छ । त्यो सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजानुपर्छ।’ यद्यपि एउटै भ्रमणमा सबै कुरा खोज्न पनि नहुने उनको राय छ ।

नेपालले यस भ्रमणमा सीमा विवाद मुद्दाका विषय उठाउने बताइएको छ । सीमा समस्याका बारेमा नेपालले भारत भ्रमणका भारतसँग छलफल गर्ने तयारी गरेको हो ।

परराष्ट्रमन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल र भारतबीच देखिएका सीमा समस्या महत्वपूर्ण विषय भएकाले प्रधानमन्त्री देउवाको भ्रमणका बेला सो विषयमा छलफल हुने बताएकी हुन् ।

प्रवक्ता लम्सालले भनिन्, सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला कहि न कहि यो विषय उठ्छ ।’

यस्तो छ भ्रमण कार्यतालिका

देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग औपचारिक रुपमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । देउवाले भ्रमणकै दौरान उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम रहेको छ ।

नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै भ्रमण टोलीमा उनीसंगै उनका पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।