काठमाण्डौं-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत साउनमा आएको बाढीबाट प्रभावित तराईका बाढीपीडितलाई शीतलहरबाट जोगाउन प्रतिपरिवार २५ हजार रुपियाँ राहत वितरण गर्ने भएको छ । सरकारले हालैमात्र तराईका बाढीपीडित परिवारलाई राहतस्वरूप प्रतिपरिवार १५ हजार रुपियाँ र न्यानो कपडाका लागि १० हजार रुपियाँ वितरण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बाढीपीडितको पुनःस्थापना र पुनःबासको जिम्मा पाएको प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम वितरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछ । प्राधिकरणले रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिए । तराईमा शीतलहर सुरु हुनुअगावै उक्त रकम उपलब्ध गराउने योजना रहेको पनि उनले बताए ।


ADVERTISEMENT

# # #


गत साउनको अन्तिम साता आएको अविरल वर्षाका कारण तराईका ४१ हजार ६२६ परिवारका घर बाढीको चपेटा र डुबानमा परी पूर्ण रूपमा क्षति भएको थियो । यो वर्षको बाढीबाट अतिप्रभावित १८ जिल्लामा १३४ जनाको ज्यान गएको थियो ।  राष्ट्रिय योजना आयोगद्वारा तयार पारिएको बाढीपछिको पुनःस्थापना आवश्यकता आकलन प्रतिवेदनमा पीडितको पुनःबास र पुनःस्थापनाका लागि करिब ७३ अर्ब २२ करोड ४८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

आयोगका अनुसार बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपियाँ बराबरको क्षति पु¥याएको थियो ।  बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना गठन गरेको छ ।