काठमाण्डौं-मुलुकको आठवटा सहरको भौतिक पूर्वाधार तथा वातावरणीय विकासका लागि एसियाली विकास बैङ्क (एडीबी)ले ऋण सहयोग उपलब्ध गराउने भएको छ । क्षेत्रीय सहरी विकास आयोजनाका लागि एडीबीले यो ऋण सहयोग उपलब्ध गराउन लागेको हो ।


ADVERTISEMENT


सहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीका अनुसार सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी र एसियाली विकास बैङ्कका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले सो ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार एसियाली विकास बैङ्कले उपलब्ध गराउने सहायता रकमको आठ वर्षसम्म नेपालले प्रतिसयकडा एक प्रतिशत र त्यसपछि १.५ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने हुन्छ । यो आयोजना सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

कुल १५ अर्ब ४० करोड रुपियाँका लागि सो सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिँदै प्रवक्ता केसीले विराटनगर, वीरगन्ज, सिद्धार्थनगर, नेपालगन्ज, भीमदत्त, धनगढी, गोदावरी र शुक्लाफाँटाको सहरी पूर्वाधारको विकास तथा वातावरणीय सुधारका लागि सो रकम खर्च गरिने जानकारी दिए ।

एडीबीको यो आर्थिक सहयोगले तोकिएका सहरहरूको भौतिक पूर्वाधारको विकास तथा वातावरणीय सुधारका साथै बाढी नियन्त्रण र रोकथामका संरचनाहरूको निर्माण गर्नु, दुई सय किलोमिटर ढल निकास, २४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ निर्माण तथा चारवटा ल्यान्डफिल्ड साइट निर्माण गरिनेछ ।

यो आयोजनाको कुल लागत २१४ मिलियन डलर रहेको छ, जसमध्ये एडीबीले सोमबार भएको सम्झौताअनुसार १५० मिलियन डलर उपलब्ध गराइरहेको जानकारी एडीबीको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको निर्देशक चक्रवर्ती कण्ठले दिए ।

यो आयोजनाको लागि नेपाल सरकार र एडीबीबीच सोमबार सम्झौता भए पनि एडीबीको सहयोेगमा यो आयोजना गत वर्षदेखि नै लागू रहेको जानकारी निर्देशक कण्ठले दिए । यस्तो लगानीलाई ‘सम्झौतापूर्व लगानी’ (रेक्ट्रो एक्टिभ फिनान्सिङ) भनिन्छ ।

उनका अनुसार यो आयोजनाअन्तर्गत नेपाल सरकारले एडीबीबाट ऋण सहयोग प्राप्त गर्नेछ भने सरकारले प्रस्तावित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूलाई अनुदानस्वरुप रकम उपलब्ध गराउनेछ ।

सहरी पूर्वाधार निर्माणसँगसँगै यो आयोजनाअन्तर्गत सहरी योजनाको क्षेत्रमा परियोजना पहिचान गर्न ‘प्रोजेक्ट बैङ्क’ पनि निर्माण गर्नुका साथै नयाँ नगरपालिकाको रूपमा स्थापित गोदावरी र शुक्लाफाँटाको कार्यालय भवनसमेत निर्माण गरिने जानकारी उनले दिए ।

एडीबीको सहयोगमा अहिले सहरी वातावरण सुधार आयोजना, मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजना, एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजना गरी चारवटा आयोजना नेपालमा सञ्चालन छन् ।

मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत विराटनगर, बुटवल, बनेपा, धुलिखेल र पनौतीमा कार्यक्रम सञ्चालित छन् । त्यसैगरी एकीकृत सहरी विकास आयोजनाअन्तर्गत धरान, जनकपुर, सिद्धार्थनगर र नेपालगन्जमा विकास कार्यहरू सञ्चालित छन् । यो दुइटै आयोजनाको समयावधि सन् २०१८ सम्म छ ।