वीरगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरू र व्यापारीहरूले घरमा थन्क्याउनु भएको बताएका हुन् । नेताहरूले कमिसन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको उनको जिकिर छ ।


ADVERTISEMENT

# # #


नेताहरू र काला व्यापारीहरूले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिने बताए ।

‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्‍याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । बैंकमा नोट नहुने कुरा के हो, कहाँ गयो त नोट ? नेताहरूको घरमा, कमिसनका नाममा । भ्रष्टाचारका नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्‍यो,’ उनले भने ।

अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्न मतदाताहरूले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै भएको टिप्पणी गरे । उनले देशका ठूला राजनीतिक पार्टीहरूले देशलाई बर्बादीको बिन्दुमा पुर्‍याएको आरोप लगाए ।